आजबाट महानगरका १० वटा वडाको राजस्व प्रणाली अनलाइनमा
कपन अनलाइन
काठमाडौं ,असोज १ ।
काठमाडौं महानगरपालिकाले आज देखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित वडा नं २६ बाट सेवा सुरु गरिएको हो । वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका थिए ।
राजस्व बिभागका निर्देशक शिवराज अधिकारीकाअनुसार आजबाट १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ ।
यस प्रणालीको पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक करको अङ्क प्राप्त गर्नेलगायत सुबिधा लिन सक्छन् ।
सेवा कसरी लिने ?
अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्क करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुबिधा छ । करदातासँग सम्बन्धित र सोधिएका/माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो ।
करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मुल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे, आईएमईपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ ।फोटो सौजन्य : काठमाडौं अनलाइन