लायन्स क्लब अफ काठमाडौं समर्पणका सदस्य द्वारा कोरोना योद्दा डा.रोशन कुमार झा लाई स्वागत
कपन अनलाइन
काठमाडौँ, भाद्र १९। पछिल्लो समय उपत्यकालगायत देशका विभिन्न भागमा कोरोना विरामीको उपचारमा संलग्न डाक्टरलाई लखेटिएको समाचार सञ्चारमाध्याममा आइरहेका छन् ।
तर, पछिल्लो समय काठमाडौँको सोल्टीमोडमा फरक दृश्य देखियो । कोरोना विरामीको उपचारका लागि दिनरात नभनी १४ दिनसम्म शशस्त्र प्रहरी अस्पताल बलम्बुमा खटिएका डा रोशनकुमार झालाई भने लायन्स क्लब अफ काठमाडौँ समर्पणको टोलीले आफ्नै टोल सोल्टीमोडमा बिहिबार फूलमाला सहित भव्य स्वागत गरेका छन ।
झा शशस्त्र प्रहरी अस्पतालमा प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा कार्यरत छन । पछिल्लो समय कोरोनाको उपचारमा संलग्न डाक्टर बस्नका लागि शशस्त्र प्रहरी अस्पतालले छुटै क्वाटरको व्यवस्था गरेपनि डा झा भने सरकारी रकम सदूपयोग गर्नका लागि आफु घरमा आएर क्वारेन्टाइनमा बस्ने गरेका थिए ।
“मलाई अस्पतालले बस्नका लागि छुट्टै क्वाटरको व्यवस्था गरेको थियो, तर मलाई टोलवासीले घरमा आएर बस्नका लागि गरेको अनुरोधलाई स्वीकार गरेर घरमै आएर बसेको छु,”–उनले भने ।घरको कोठालाई क्वारेन्टाइन बनाएर बसेपछि परिवार पनि खुशी हुने र आफुलाई पनि सन्तुष्टी मिलेको उनको भनाई छ । झा दम्पत्ती नै स्वास्थ्यकर्मी हुन् ।नेपालमा पछिल्लो समय फैँलदै गएको कोरोना उपचार तथा नियन्त्रणका लागि लायन्स क्लब अफ समर्पणले काम गर्दै आएको छ ।
लायन्स क्लब अफ समर्पणले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारमा सहज पुग्ने उदेश्यले २०० सिलिण्डर सहित ‘अक्सिजन बैँक’ स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको क्लबका सदस्य लायन्स सञ्जय सिंघानियाले जानकारी दिए । कोरोनाका सामान्य विरामीको उपचारका लागि उक्त कार्यले सहयोग पुग्नेछ ।
विस २०६७ सालमा स्थापना भएको उक्त क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ । कोरोना सङ्क्रमणपछि लायन्स क्लब अफ काठमाडौँ समर्पणले सेनिटाइजर, माक्स, ग्लोब्सलगायतका सामाग्री निशुल्क वितरण गरेको क्लबका अध्यक्ष लायन्स दिपक वँशलले बताए |
फोटो : रोशन दानी