गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औंशी मेला लागेन
कपन अनलाइन
काठमाडौं भाद्र ३ ।गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मेला लाग्ने गरेकोमा यसपटक सो क्षेत्रमा मेला लागेन ।बाबुको मुख हेर्ने दिन बुधबार मन्दिरमा लाग्ने मेला यसवर्ष कोरोना जोखिमका कारण स्थगित गर्ने नगरपालिकाको निर्णय अनुसार मेला नलागेको हो ।गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।
गोकर्णेश्वर नगर कार्यपालिकाको सोमबारको बैठकले उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिरमा लाग्ने धार्मिक मेला नगर्न नगराउन आह्वान गरिएको नगर प्रमुख सन्तोष चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
कोरोनाको महामारीका बेला घरघरमै सुरक्षित बसेर पितृप्रति सम्मान गर्न पनि नगरपालिकाले आह्वान गरेको थियो । नगरपालिकाको निर्णयअनुसार आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्ने गरी जान नपाउने व्यवस्था गरिएको वडा नं–४ को अध्यक्ष समेत रहेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।
गए राति देखिनै उक्त क्षेत्रमा धेरै शंख्यामा प्रहरीहरु तैनाथ गरिएको महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक बाशुदेव थापाले बताए। उनले कोरोना जोखिमलाइ मध्य नजर गर्दै सो क्षेत्रमा धार्मिक गतिबिधिमा रोक लगाइएको बताए ।
बाबुको मुख हेर्ने दिन पिता दिवङ्गत भएका छोरा, छोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औँसीसमेत भनिने भाद्रकृष्ण औँसीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गरेको थियो ।
कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ । विगत वर्षहरुमा भाद्रकृष्ण औँसीको तीन दिनअघिदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आएर बस्ने गरेकामा यस वर्ष कोरोनाका कारण चहलपहल देखिदैन । कोरोनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि चाडपर्व, मेला, जात्रामा हुने भीडभाड यस वर्ष बन्द गर्ने निर्णय गरेको थियो । । हरितालिका (तीज) पर्व समेत तामझामका साथ नगर्न नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।साथै नगरपालिकाले आज बाबुको मुख हेर्ने दिनको अवसरना सार्वजनिक बिदा समेत दिएको छ ।
फोटो : सरोज बस्नेत