रञ्जन कोइरालाको कैद घटाउने फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
कपन अनलाइन
काठमाडौं ,साउन ११ ।
सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ।महान्यायाधीवक्ताको कार्यालयले विहिबार पुनरावलोकन हुनुपर्छ भन्दै निवेदन दर्ता गरेको थियो।
उक्त निवेदनमा सुनुवाई गर्दे न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको फैसला पुनरावलोकन गर्न अनुमति दिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताएका छन ।
‘कोइरालाको मुद्दा पुनरावलोकन गर्न तीन न्यायाधीशको इजलासले निस्सा दिइसक्यो। केहीबेरमा उक्त आदेशको पुरै पाठ आउँछ,’ उनले भने।
सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।
जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले उनको कैद सजाय घटाउने फैसला गरेको थियो।