बुढानिलकण्ठ नगरपालिकाकी अनिशा न्यौपाने राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनिन
कपन अनलाइन
काठमाडौं ,असार २७।
बुढानिलकण्ठ नगरपालिकाकी अनिशा न्यौपाने यू–२० खुल्ला र महिला राष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगितामा राष्ट्रिय च्याम्पियन बनेकी छन। यो प्रतियोगितामा बिजयी बने संगै बुढानिलकण्ठ नगरपालिका वडा नं ११ निवासी न्यौपानेले चेस ओलम्पियाडमा नेपालको टिमबाट सहभागीता जनाउने अवसर पनि पाएकी छन।
नेपाल बुद्धिचाल संघको आयोजनामा भेट्रान, यू–२० खुल्ला र महिला राष्ट्रिय बुद्धिचाल (चेस) तीन दिने प्रतियोगिता सम्पन्न भएका छन्। यहीँ ४ देखि ६ जुलाईसम्म भएका तीन समूहका प्रतियोगितामा कास्कीका रामबहादुर क्षेत्री भेट्रानतर्फ, युवराज पौडेल यु–२० तर्फ र अनिशा न्यौपाने महिलातर्फ राष्ट्रिय च्याम्पियन भएका छन्।
स्वीस लिग प्रणालीअनुसार सातौं चरणसम्मको खेलमा रामबहादुरले ५.५ अंक जोड्दै उपाधि उपाधि जितेका हुन्। उनले नगद ३ हजार पनि जिते। कास्कीका बिनोद नालमी ५ अंक जोड्दै दोस्रो भए। समान ५ अंक जोडेका भक्तपुरका शिवसुन्दर गाइजु तेस्रो भए। उनीहरु तीनै जनाले आउँदो २९ असारमा हुने एशियन भेट्रान्समा प्रतिनिधित्व गर्नेछन्।
यु–२० खुल्लातर्फ स्याङ्जाका युवराज पौडेलले नवौं चरणसम्मको खेलमा ८ अंक जोड्दै उपाधिसहित नगद तीन हजार जिते। काठमाडौका विवेक श्रेष्ठ ७.५ जोड्दै दोस्रो र भक्तपुरका निकेश कुस्था तेस्रो स्थानमा रहे।
महिलातर्फ काठमाडौका अनिशा न्यौपाने पहिलो, झापाका कृतिसारा अधिकारी र रुपन्देहीका नमन सेढाईले दोस्रो र तेस्रो भए। युवराज र अनिशाले आउँदो ७ साउनमा हुने चेस ओलम्पियाडमा नेपालको टिमबाट सहभाजिता जनाउन पाउनेछन्