कपनमा डुवान समस्या समाधान कसरि ?
कपन अनलाइन
काठमाडौं ,असार २७/पुन्यराज पुडासैनी
बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ (कपन क्षेत्र ) मा देखिएको डुवान समस्याको दिर्घकालिन समाधान खोज्नका लागि विस्तृत अध्ययन गर्ने भएको छ। कपनवासीले लामो समय देखि डुवानका कारण भोगेको कस्टपूर्ण अवस्थाको अन्त्यका लागि बृहत प्राविधिक तथा भौगोलिक अध्ययनका लागि नगरपालिकाले बजेट व्यवस्थापन गरेको छ।
कपन क्षेत्रको डुवान समस्या समधानका लागि साततले-आनिगुम्बा खण्डमा ढल विस्तार गर्दा पनि उक्त समस्याको समाधान नभएपछि नगरपालिकाले बिज्ञ र प्राविधिकको सहयोगमा सो क्षेत्रको स्थलगत अवस्थाको अनुसन्धान गर्नका लागि बजेट व्यवस्थापन गरिएको नगर प्रमुख उद्दव खरेलले बताएका छन।
नगरपालिकाका कपन सहित अन्य डुवानका कारण समस्यामा परेको अवस्था प्रति साहित्यिक भावमा सामाजिक संजालमा लेख्दै आएका नगर प्रमुख खरेलले कपन क्षेत्रको डुवान समस्याको दिगो समाधानका लागि तयार रहेको बताउदै सो क्षेत्रका जनताले पाएको कस्ट प्रति दुख व्यक्त गरेका छन।
काठमाडौं क्षेत्र नं ४ मा रहेको कपन क्षेत्रमा निरन्तर हुदै आएको डुवानले प्रतिनिधि सभा सदस्य ,प्रदेस सभा सदस्य ,नगरपालिकाक प्रमुख ,उपप्रमुख र वडा अध्यक्षहरुको दुखाएको उनीहरुले आफ्ना सामाजिक संजालमा व्यक्त गरेका विचार र पछिल्लो समय उनीहरुले देखाएको सक्रियताले संकेत गरेको छ।
तर पानी परेर डुवान हुदा जुरुक्कै उठने र घाम लाग्दा मस्त सुत्ने काल्पनिक कथाको छेपारोको नियति भोगेका कपनवासिहरु सडकमा अग्ला ब्रेकर बनाएर सडकमा बगेको पानी छेक्न बाध्य छन। अहिले पानी परेको दिन काठमाडौं उपत्यकाका जुन सुकै स्थानमा कार्यरत रहेका कपनवासीहरुको मनमा बाढी छलेर कसरि घर पुग्नेहोला भन्ने चिन्ता बढ्ने गरेको देखिन्छ।
कपन क्षेत्रमा वडा नं ११ का केहि भूभाग बाहेक अन्य क्षेत्र तल्लो भेगको फाँटमा रहेका छन जहाँ निर्माण गरिएका घर तथा अन्य संरचनाका कारण पानीको निकासमा समस्या देखिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मिलनचोक तरकारी बजार क्षेत्रमा यज्ञमति र चखुन्छा खोला मिसिएर साततलेमा रुद्रमती (धोवीखोला ) मा मिसिन्छ।
अहिले कपनवासीलाई सबै भन्दा बढी दुख दिने रुद्रमती खोलामा जगडोल क्षेत्र ,कपन गुम्बा कृष्णमन्दिर,आनी गुम्बा हुदै वडा नं १० को जोरधारा,गौरीशंकर,कपन चौकी,मिलनचोक र साततले, वडा नं ११ को गुरुङ टोल ,ढुंगेन र वडा नं १२ को आदर्शनगर,नवदुर्गा,फुलवारी टोल लगायतका क्षेत्र पर्दछन।
त्यस्तै चखुन्छा खोलमा वडा नं १२ को फैका, तेन्जिंग चोक र काठमाडौं महानगरपालिका वडा नं ६ का शान्तिनगर लागयतका क्षेत्रहरु प्रत्यक्ष डुवानको समस्याले पिडित बनेका छन भने ढल निकास बन्द भएर ति क्षेत्रका भित्रि भागहरु पनि प्रभावित बन्दै आएका छन।
वर्षातमा सडकमा खोला बगेर आवतजावत बन्द हुँदा सो क्षेत्रको ब्यापार व्यवसायमा निकै ठुलो असर पुगेको छ भने यसको प्रत्यक्ष मारमा सवारी साधनहरु परेका छन।
हरेक वर्ष हुने डुवानका कारण कपन क्षेत्रमा प्रकट हुने बहस ,आरोप, प्रत्यारोप ,पिडा ,आवेग र लाचारी प्रकट हुन्छ जुन पानीले गरेको हानि हेर्दा स्वाभाविक लाग्दछ।
कपनमा डुवान समस्या समाधान कसरि ?
अहिले कपन क्षेत्रका हरेक चोक,पसल,होटल,वडा कार्यालय,नगरपालिका कार्यालय देखि सांसदको कार्यालय सम्म यहि प्रश्नको वरिपरी व्यापक छलफल शुरु भएको छ। अरुवेला घाम लाग्दा विर्सने गरेको यो प्रश्न अहिले भने टन्टलापुर घाम लाग्दा पनि उठिरहेको छ।
जनस्तरमा देखिएको आक्रोस र जनप्रतिनिधिमा देखिएको गम्भीरताका विचमा डुवान समस्या समाधानका लागि अनुसन्धानमा नगरपालिकाले बजेट व्यवस्थापन गरेको छ। यो अनुसन्धान ढलमा सिमित गरिएका खोलामा बहाव हुने पानीलाई व्यवस्थापन गर्ने देखि ति क्षेत्रको सडक संरचनामा पनि केन्द्रित हनुपर्ने देखिन्छ।
विस्वका अन्य सहरहरुमा प्रयोग गरिएका सहरी ढल व्यवस्थापन अभ्यासहरुको पनि गहन अध्ययन गर्दै वर्तमान संरचनाको सुधार वा विस्तार भन्दा पनि संरचना परिवर्तनका वारेमा अहिले बहस शुरु भैरहेको छ।नगरपालिकाले गर्ने अनुसन्धानको एउटा विषयमा संरचना परिवर्तन पनि पर्ने देखिन्छ भने अर्को विषय भनेको हाल भएको राखिएको ढलको अवस्थाको अध्ययन गरि यसका प्राविधिक गल्ति खोजेर पुन निर्माण रहेको छ।
बुढानिलकण्ठ नगरपालिकाका मुख्य तिन वडालाई पिडित बनाएको डुवानको अर्को तर्फ काठमाडौं महानगरपालिका वडा नं ६ का जनता पनि प्रत्यक्ष प्रभावित बनेका छन।यो समस्याको समाधानमा बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाको भूमिका महत्वपूर्ण रहेने हुँदा अनुसन्धानमा यस तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ।
कपनमा डुवान समस्या समाधान कसरि ? यो प्रश्न अहिले सबैको सामुहिक प्रश्न बनेको जसको उत्तर पनि सामुदायिक पहल र प्रयासमा खोज्नु पर्ने आवस्यकता रहेको छ। क्षेणिक आवेग मेटाउन गरिएका गालि हुनकी उत्तेजनामा पोखिएका आक्रोस ति सबै प्रत्येक डुवानको पानी संगै निरन्तर धोवीखोलामा बगिसकेका छन।
त्यसैले कपनको डुवान समस्या समाधानका लागि वर्तमान संरचना विस्तार र सुधार की परिवर्तन ? त्यसका विविध पक्षहरुका वारेमा अवको बहस केन्द्रित हुनुपर्ने देखिन्छ।