उपप्रधानमन्त्री ईश्वर पोखरेलका नजरमा मदन भण्डारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलका नजरमा मदन भण्डारी

कपन अनलाइन

(भोलि असार १४ गते जननेता कमरेड मदन भण्डारीको ६९ औ जन्म जयन्ती  हो। यस सन्दर्भमा नेपाल सरकारका उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलको स्मरण र सम्झना यहाँ प्रस्तुत गरिएको छ )

मदनसँग बिताएका क्षणहरु
एकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागि सकेको हुनुपर्छ । मध्य वर्षातमा हराभरा वनेका खेतवारी र वन बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णतालाई रोक्न सकिरहेका थिएनन् । म भने कहिल्यै नगएका–नपुगेका वस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरंगको इटहरा गाउँ खोज्दै हिंडिरहेको थिएँ । मेरो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’बाट प्रभावित भई ‘को–अर्डिनेशन केन्द्र’ (कोके) मा भर्खरै सामेल भएका एक जना क्रान्तिकारी ‘जीवन शर्मा’लाई को.के.को ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट प्रेरित थियो ।

कुरा के थियो भने– पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्र्टीको ‘मोर्चा संगठन’सित सम्वन्धित अधिकांश नेता–कार्यकर्ताले भर्खरै ‘विद्रोह’ गरेका थिए । नेतृत्वको ‘अवसरवादी आचरण’का कारण देखाउँदै विद्रोह गरी उनीहरुले ‘झापाली क्रान्तिकारीहरू’ ले गठन गरेको ‘को–अर्डिनेशन केन्द्र’मा सामेल हुने घोषणा गरेका थिए । उनीहरुको संगठन ‘मुक्ति–मोर्चा’ नामले चिनिन्थ्यो । ‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो र म वहाँलाई सम्पर्क गरी २०३५ साउन ४–९ गते हुन लागेको ‘कोके’ को ‘तेश्रो सम्मेलन’मा सहभागी गराउन गएको थिएँ । सोध्दै–खोज्दै, रात–साँझ गर्दै म ‘जीवन शर्मा’को गाउँ इटहरा पुगेको थिएँ । एकदिनको पखाईपछि कालो टोपी, फिक्का आकासे रंगको टेरिकटनको सर्ट र हाफ प्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटे । आखिर ‘जीवन शर्मा’को नामले मसँग चिनाइएका ती व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदो रहेछ !

‘कोके’ को ‘तेश्रो सम्मेलन’ अत्यन्त कडा सुरक्षाका वीचमा भैरहेको थियो । हाम्रो कार्यक्रमको छनक पाएर पंचायती व्यवस्थाका पुलिसहरू बाहिर वाक्लो गस्तीमा खटिएका थिए । कार्यक्रम स्थलमा कुनबेला छापा मारिने हो त्यस्को ठेगान थिएन, कुनै पनि वेला छापा मारिन सक्थ्यो । जनस्तरबाट तह तहमा सुरक्षा प्रवन्ध त हामीले गरेका थियौं तर पनि पुलिसहरूको अस्वाभाविक आक्रमणको संभावनालाई टार्न सकिन्नथ्यो ।

हामीले सहभागीहरूकै तर्फबाट थप सुरक्षाको विशेष व्यवस्था ग¥यौं । यसका लागि हामीहरूले आफूसँग भएका दुई थान बन्दूक प्रयोग गर्ने निधो भयो । ती बन्दूक प्रयोग गर्ने जानकार साथीहरूको छनौट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र संखुवासभाबाट आउनु भएका वासु शाक्यको टीमलाई जिम्मेवारी तोकियो । रत्न र वासुका वारेमा त साथीहरूले केही केही वुझ्नुभएको थियो तर मदन पनि बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सवै चकित भए । यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सुरक्षित र सफलतापूर्वक सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो– बैचारिक रुपमा प्रखर नेता त उहाँ हुनुहुन्थ्यो नै, आवश्यक परे भौतिक लडाईँका निम्ति पनि तयार नेताका रुपमा हामीले उहाँलाई चिन्यौं ।

‘कोके’ को संगठन विस्तारमा मदनको भूमिका वेगवान थियो । मेची–कोशी अञ्चलका दक्षिणतिरका जिल्ला समेटेर ‘पूर्व–दक्षिण क्षेत्र’ नामको सांगठनिक संरचना खडा गरियो, जसको प्रमुख स्वयम् मदन हुनुहुन्थ्यो । आफ्नो क्षेत्र अन्तर्गत पर्ने सबै जिल्लामा नेतृत्वदायी कमिटीहरूलाई पुर्नव्यवस्थित गर्ने काम मदनले पूरा गर्नुभयो ।

२०३५ साल पुस ११–१४ मा ‘कोके’ को राष्ट्रिय सम्मेलनबाट ‘नेकपा (माले)’ को जन्म भयो । मोरंगको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको वस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसको सम्पूर्ण व्यवस्थापनको नेतृत्व मदनले गर्नु भएको थियो । सम्मेलन चलिरहँदा नै एकातिर संखुवासभामा पञ्चायती व्यवस्थाले हरि नेपाल र चन्द्र पुरीको हत्या ग¥यो भने अर्का तिर पार्टीभित्र पोलिटव्युरो सदस्य रामचन्द्र यादव र धनुषा जिल्ला कमिटीका सदस्य अशेश्वर यादवले उग्रवामपन्थताको वकालत गरे । त्यसैको समानान्तर मणिलाल राई लगायतका केही साथीहरुले ‘कोके’ ले उग्रवामपन्थता त्याग्न नसकेको भन्दै अलग विचार पनि अघि सारेका थिए ।


‘राष्ट्रिय सम्मेलन’ स्थलमै केही साथीहरुले बाहिर कतै प्राप्त गरेको एउटा लामो पर्चा ल्याउनुभयो– पर्चाको शीर्षक नै ‘पथभ्रष्ट चन्द्र नेतृत्वदायी गुटके उपर गोलावारी करें !’ थियो । त्यसवेला चन्द्रप्रकाश (सीपी) मैनाली पार्टी महासचिव हुनुहुन्थ्यो र, उहाँ बहुचर्चित हुनुहुन्थ्यो । हिन्दीमा छापिएको उक्त पर्चाले हामीलाई अत्यन्त आक्रोशित वनायो । पार्टी स्थापना गर्ने दिनमै रामचन्द्र–अशेश्वरहरूको उग्रवामपन्थी चिन्तन र दक्षिणपंथी चिन्तनको सामना गर्नुपर्ने भयो । त्यसको प्रतिवादमा मदनले सकृयताका साथ भूमिका खेल्नुभयो । हामीले केही समयभित्रै यी दुवै विचारलाई निस्प्रभावी वनायौं ।

२०३९ साल साउन २४ गते– अर्थात्, आजभन्दा ३८ वर्ष पहिले । त्यो दिन मदनको विवाहको आयोजना गरिएको थियो । वेहुली हुनुहुन्थ्यो– विद्या पाण्डे (अर्थात् वर्तमान सम्माननीय राष्ट्रिपति भण्डारी) । तत्कालीन नेकपा (माले)को ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’ले विहेको आयोजना गरेको थियो । ‘मध्य दक्षिण क्षेत्रीय कमिटी’का सचिव माधवकुमार नेपाल र सदस्यहरु म र मुकुन्द न्यौपाने– भूमिगत ढंगले आयोजना गरिएको उक्त विवाह समारोहमा सहभागी थियौं । पार्टीका राम्रा समर्थक र सहयोगीहरुको उपस्थितिमा विराटनगरस्थित देवकोटाजीको एकान्तमा रहेको डेरामा विहेको कार्यक्रम आयोजना गरिएको थियो । बेलुकी ८ बजे शुरु गरिएको विहेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपाल हुनुहुन्थ्यो र कार्यक्रमको सभापतित्व मैले गरेको थिएँ ।

‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’का सचिव मदन स्वयं बेहुला हुनुहुन्थ्यो भने त्यस कमिटीका अशोक राई, राजेश वान्तवा राई, चित्र निरौला आदि उपस्थित हुनुहुन्थ्यो । परिवारका सदस्यहरुमा मदनका भाई प्रेम र वहिनी गीता मात्र हुनुहुन्थ्यो । बेहुली बन्नु भएकी विद्याजी त्यसबेला विराटनगर नगर कमिटी तथा मोरङ जिल्ला कमिटीमा संगठित हुनुहुन्थ्यो र मोरङ क्याम्पसको अनेरास्ववियूको राजनीतिक– सांगठनिक काममा नेतृत्व गरिरहनु भएको थियो ।

त्यस दिन विवाह समारोहमा हामी सबैले वहाँहरुलाई ‘क्रान्तिकारी जीवनले सफलता प्राप्त गरोस्,  देश र जनताको हितमा काम गर्न सक्नुहोस्….’ भन्दै शुभकामना व्यक्त गरयौं । वहाँहरु दुबै जनाले पार्टीको झण्डा सामु उभिएर प्रतिज्ञा गर्नुभएको थियो । त्यस रात अवेरसम्म हामीहरुले क्रान्तिकारी गीत गायौं– कविताहरु वाचन गरयौं र, क्रान्तिकारी जोडी उदाहरणीय बनोस् भनेर शुभकामना व्यक्त ग¥यौं । तर, विहे पछिको झण्डै ११ वर्षको अवधिमा मदन–विद्याको जोडीले प्रायः प्रतिकूलता नै झेल्नुप¥यो, अनिश्चितताको स्थितिको सामना गर्नुप¥यो । विहे गरेको ११ वर्ष वित्न नपाउँदै मदनको शहादतपछि विद्याजीले वियोगको पिडा सहेर बस्न बाध्य हुनुप¥यो । पति वियोगको असहज पिडा सहनु परे पनि मदनका सपना र संकल्पलाई पुरा गर्ने परिवर्तित अभिभारा सहित विद्या भण्डारी अविचल भएर उभिनु भएको छ । परिस्थिति बदलिएको छ, जिम्मेवारीहरु फेरिएका छन्– तर हाम्रा उद्देश्यहरु फेरिएका छैनन् ।

२०४० सम्म मदन केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । तर वैठकहरूमा वहाँको उपस्थिति र त्यहाँ वैचारिक छलफलहरूमा स्पष्ट दृष्टिकोणका साथ गम्भीर सहभागिताका कारण उहाँ सबैको केन्द्र वन्दै जानुभयो । २०३९ मा सिपीसँगको विवादपछि महासचिव वन्नुभएका झलनाथ खनालको अगुवाइमा पोलिटव्यूरो र मदनको अगुवाइमा जस्तो भएको थियो, केन्द्रीय कमिटी । वैठकमा वहस छलफल हुँदा म लगायतका अरू कति साथीहरू मदनले अगुवाइ गर्ने वहसमा पक्ष भएर उभिदा गौरववोध हुन्थ्यो । पछिपछि त वहाँकै विश्लेषण र दृष्टिकोण नै यति प्रभावी वन्दै जान थाल्यो कि उहाँलाई पोलिट्व्युरोमा ल्याउनै पर्ने भयो ।

मदन पोलिटव्यूरोको सदस्य वनेपछि तुरुन्तै पार्टीभित्र वैचारिक नेताका रुपमा स्थापित हुनुभयो । राजनीतिक छलफल थप सशक्त र जीवन्त वन्दै गयो । विगतको समीक्षा गर्ने, पार्टी परिचालनमा योजना निर्माण गर्ने र कार्यक्रमिक विषयहरूलाई अध्यावधिक गर्ने सवालमा वहाँको क्षमता प्रकट हुन थाल्यो । उहाँका यिनै क्षमताले २०४६ को चौथो महाधिवेशनबाट मदन सर्वसम्मतिका साथ पार्टीको महासचिव चयन हुनुभएको थियो ।

चौथो महाधिवेशनबाट मदन सर्वसम्मतीले महासचिव पदमा निर्वाचित भएपछि त्यही सालको अन्त्यतिर भएको ऐतिहासिक जनआन्दोलन पश्चात खुला भएका राजनीतिक पार्टीहरु वैधानिक ढंगले काम गर्न सक्ने भएका थिए । परिवर्तित राजनीतिक अवस्थामा आफ्नै पार्टीभित्र र मुलुकभित्रै देखिएका समकालिन नेताहरूमध्ये पृथक उचाईका साथ मदन सार्वजनिक हुनुभएको थियो । उहाँमाथि सबैको नजर गढेको तथ्यलाई त्यसवेला सहजै वुझ्न सकिन्थ्यो ।

साझा शत्रुका विरुद्धको संघर्षमा निर्णायक रुपमा विजय प्राप्त गर्न विभिन्न वामपन्थी समूहहरूलाई सके एउटै पार्टीमा, नसके पनि एउटै मोर्चामा ल्याउनैपर्छ भन्ने मान्यता थियो– मदनको । सिद्धान्त, कार्यक्रम र अन्य कतिपय विषयहरूमा एउटै धारणा र मान्यता भएका तर कार्यनीतिक प्रश्नहरूमा भने एक ठाउँमा नआइसकेका वाम समूहलाई मित्रवत वहस, छलफल गर्दै नजिक रहने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मान्यता पनि थियो– मदनको । छरिएका वाम पार्टीहरूलाई गोलवन्द गर्न सक्नुपर्छ, त्यही संयुक्त शक्तिका बलमा मुलुकमा परिवर्तन चाहने अन्य पक्षसित समेत सहकार्य गर्दै राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो– मदन । यिनै मान्यता र निष्कर्षका आधारमा तत्कालिन  नेकपा (माले)ले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सक्यो ।

मदन महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी संभव भयो ? त्यसवेला वहाँ केवल उनन्चालीस वर्षको मात्र हुनुहुन्थ्यो । कतिपय मानिसले, यहाँसम्म कि अहिले नेपाल कम्युनिष्ट पार्टी भित्रकै कतिपयले समेत मदनको यो विकासक्रमलाई राम्ररी वुझ्नसकेका छन् जस्तो लाग्दैन । मदनको व्यक्तित्व र भूमिकाका सम्वन्धमा आ–आफ्नै धारणा राख्नेहरूको काफी संख्या छ । नेपाल कम्युनिष्ट पार्टी भित्रकै केही मदनको भूमिका र योगदानलाई अवमूल्यन गर्ने खालका पनि देखिएका छन् र कतिपयले त वहाँलाई भावनात्मक हिसावले मात्र वुझिरहेका पनि छन् । मदनलाई वुझ्नु एउटा व्यक्तिलाई वुझ्ने जस्तो मात्र कुरा होइन । यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकासक्रमलाई–गतिशीलतालाई कसरी वुझ्ने वा वुझ्नुपर्छ भन्ने विषय पनि हो । मदन कम्युनिष्ट आन्दोलन भित्रको व्यक्ति मात्र नभएर, विचार–प्रवृत्तिको अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो ।

पूर्वीय साहित्य, दर्शन तथा माक्र्सवादी सिद्धान्तको गहन एवं समीक्षात्मक अध्ययनका साथै तिनको सिर्जनात्मक प्रयोग गर्ने प्रतिवद्धताले विकसित भएको व्यक्तित्व हुनुहुन्थ्यो–मदन भण्डारी । नेकपा  (एमाले) को महासचिवको जिम्मेवारी लिने स्थानसम्म आइपुग्दाको यात्राक्रमलाई फर्केर हेर्दा मैले वहाँमा रहेको त्यो क्षमतालाई अत्यन्त वेजोड मानेको छु ।

मुलुक ऐतिहासिक जनआन्दोलनको सम्मुखमा थियो । योजनाहरूको कार्यान्वयनमा सामन्जस्यता, पार्टी  शक्तिको सही विन्यास, आवश्यक र सम्भव सबै राजनीतिक शक्तिका वीचमा समन्वय आदि विषयमा मदनको नेतृत्वले काँग्रेस र वामपन्थी वीच सहकार्यको मार्गचित तय ग¥यो । उहाँको यहि वस्तुनिष्ठ विश्लेषणमा आधारित नेतृत्वले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल वनाउन निर्णायक भूमिका खेल्यो ।

 

आन्दोलन अगाडि बढाउन हामी विचमा समन्वयका लागि छलफल हुन्थ्यो । तर प्रकृयाको ढिलाईले र विषयलाई वोक्ने प्रतिनिधिको कमजोरीका कारण केन्द्रमा राम्ररी समन्वय हुन सक्दैन्थ्यो । कतिपय वेला त विषयको सार समेत मरिसक्थ्यो । धेरैपटक त्यस्तो समन्वय केन्द्रमा खटिएका राधाकृष्ण मैनालीसँग फिल्डमा काम गर्नेहरूको समूह खासगरी मदन, केपी शर्मा ओली, माधव नेपाल र मेरो ठाकठुक परिरहन्थ्यो । म त्यसवेला काठमाण्डौं उपत्यकामा आन्दोलन परिचालनको प्रमुख थिएँ । २०४६ चैत्र २६ गतेको राजा, काँग्रेस र वाम मोर्चासंगको त्रिपक्षीय संझौतामा जसरी राधाकृष्ण मैनालीले ‘माले’को तर्फबाट भूमिका खेल्नुपर्ने थियो, त्यस्तो गर्न नसकेको, दक्षिणपन्थी औसरवादी रूझान राखेको भन्ने हामीलाई लागेको थियो । हाइकमाण्डसँग परामर्श नगरी वा दिइएको निर्देशन विपरित संझौताका लागि लहसिएको आरोप लाग्यो । मदन पनि राधाकृष्णसँग आक्रोशित नै वन्नुभयो । यही ‘सेण्टिमेण्ट’मा चैत्र २६ गतेको ऐतिहासिक र संयुक्त विजयसभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो, वोल्न दिइएन । अहिले मेरो मनमा सँधै एउटा प्रश्न उठिरहन्छ– त्यसवेला मदन सहितका हामीहरूले राधाकृष्णप्रति विवेक पुर्याउन सकेका थियौं कि थिएनौँ ? मदन आफै यसवेला रहनुभएको भए यो प्रशंगका बारेमा कसरी सोच्नुहुन्थ्यो होला ?

२०४७ मा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका वीचमा एकिकरण हुने स्थिति वन्यो । मदन यी दुई समूहका वीचमा एकिकरण गराएर कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण गराउने पक्षमा हुनुहुन्थ्यो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका वीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । तर यही काम पुरा गरी छाड्ने संकल्प लिएर मदनले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष वनाउने कुराको पक्षपोषण गर्नुभयो । आफू महासचिव बनेर पार्टीलाई नेतृत्व दिने कुरामा वहाँ संकल्पवद्ध हुनुहुन्थ्यो ।

यसपछि मनमोहन अधिकारीलाई साथमा लिएर देशव्यापी रूपमा एकिकरणको सन्देश सभाहरू गर्दै मदन निस्कनुभयो । सूदुर पूर्वदेखि सूदुर पश्चिमसम्म मनमोहन अधिकारी लगायतका नेताहरुलाई साथमा लिएर वहाँ एउटा राष्ट्रिय अभियानमा निस्कनु भएको थियो । नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा एउटा अभियान बनेर देशव्यापी रुपमा निस्केको थियो, मदनको नेतृत्वमा । त्यो अभियानले मुलुकमा एउटा राजनीतिक तरंग मात्र होइन, एमाले नामको एउटा नयाँ शक्तिलाई स्थापित गरयौं ।

तीव्र वैचारिक वहसकै वीचमा २०४९ माघमा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो । त्यो राष्ट्रिय महाधिवेशनले मदनको नेतृत्वमा जुन विचारलाई (जनताको बहुदलीय जनवाद) अत्यधिक वहुमतले पारित गरेको थियो, त्यसले मुलुकको प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनलाई क्षमताका साथ नेतृत्व गर्ने उद्घोष गरेको थियो । विचारको उत्कृष्ट प्रस्तुतिले महाधिवेशनका सहभागीहरूको ठूलो समर्थनमा मदन भण्डारी एमालेको महासचिव चुनिनु भयो ।

आम निर्वाचनमा भर्खरै काँग्रेसका लोकप्रिय नेता एवम प्रधानमन्त्री कृष्णप्रसाद भट्राईलाई पराजित गर्ने मदनले वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो । मैले अहिले पनि राम्ररी बुझ्न नसकेको एउटा प्रसंगको सम्झना भइरहन्छ । पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र काठमाण्डौंको दशरथ रंगशालामा वीसौं हजार जनताका वीचमा आयोजना गरिएको थियो । प्रतिनिधि, पर्यवेक्षक र आम जनताको त्यो विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, वहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनाहरू समेत मदनलाई सुन्न लालयित देखिन्थेँ ।

तर अचम्म ! मदनले हजारांैको त्यो उपस्थितिमा वोल्न पाउनु भएन !! त्यहाँ मनमोहनले वोल्नुभो, माधव, झलनाथ र सिपीले समेत वोल्नुभो तर मदनले वोल्न पाउनु भएन ! मदनले वोल्नुपर्छ भनेर मैदानमा वस्नेहरू आवाज उठाइरहेका थिए, तर पनि वहाँलाई वोल्ने औसर दिइएन ! यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नी ? उद्घघाटनसभा सकेर मदन र म संगै फिरेका थियौं । वहाँले आफू चढ्नुभएकै गाडीमा मलाई पनि वस्न आग्रह गर्नुभयो । उद्घाटन सभामा आफूलाई वोल्न नदिएको वारेमा मुखै खोलेर त केही बोल्नु भएन तर पार्टीमा भित्रभित्रै मौलाउन खोज्दै गरेको अस्वस्थ्यताका वारेमा केही संकेत भने गर्नुभयो । यी सबै कुराका वावजूद पनि महाधिवेशनको वन्द सत्रमा वहाँले प्रस्तुत गर्नु भएका विचार, योजना र नेतृत्वको शानदार विजय भएको थियो ।

२०४८ को आम निर्वाचनमा काँग्रेसले प्रतिनिधिसभामा वहुमत प्राप्त गरेको थियो, जसले ऊभित्र भनि नसक्नुको उन्माद जन्मायो । काँगे्रसको सर्वसत्तावादी चिन्तन र व्यवहारका कारण एमाले प्रमुख प्रतिपक्षी बनेको यथार्थलाई पनि स्वीकार गर्न नसक्ने र त्यस हिसावले मान्यता समेत दिन नचाहने उसको व्यवहारका कारण राजनीतिक मुठभेडको स्थिति वन्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काँग्रेसभित्र देखापरेको अलोकतान्त्रिक चरित्र र गतिविधिका विरूद्ध एमाले लगायतका प्रतिपक्षीहरू मात्र नभएर स्वयम् काँग्रेसभित्रै पनि विरोध हुन थालेको थियो, जसको अगुवाइ काँग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । गणेशमान जी कै आग्रहमा यस मोर्चावन्दीको एउटा महत्वपूर्ण भूमिकामा मदन भण्डारी रहनु भएको थियो ।

यस सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफलहरू भए । र, मलाई लाग्छ, केही महत्वपूर्ण सल्लाह भएका थिए र योजनाहरू समेत वनेका थिए । २०५० जेठ १ गते मदन र मेरो लगभग एक घण्टा जतिको भेटमा वहाँले यही जानकारी तथा अन्य केही संभावित विषयहरू तर्फ पनि संकेत गर्नुभएको थियो । गणेशमानजीहरुसित त्यसवीच पटकपटक भएका भेटघाटवारे जानकारी गराउँदै आफू काठमाण्डौं वाहिर रहेका वेला मलाई सम्पर्क विन्दूका रूपमा रहन निर्देशन दिनुभयो । त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्याण्डलाईन टेलिफोन नम्वर गणेशमान जीलाई दिएको र कुनै पनि वेला वहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरून्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिवारे विवरण सहितको एउटा टिपोट दिनु भएको थियो ।

मैले त्यसवेला मदनले भन्नु भएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहें, आवश्यक केही केही कुराहरू नोट गरें र आफूलाई लागेका केही विषयका वारेमा जिज्ञासा राखेँको थिए । मदनको निर्देशन थियो–यी धेरै गम्भीर र दूरगामी महत्व राख्ने विषय हुन, गोपनियता वचाउनु होला, मैले दिएको मेरो कार्यक्रमको चीट पनि सुरक्षित राख्नुहोला । हामीवीच कुराकानी सकिनासाथ मदन कास्की जिल्ला अधिवेशनको उद्घाटनका लागि हिँड्ने तयारीमा लाग्नुभयो । म एकछिनपछि मदनलाई शुभ–यात्रा भन्दै आफ्नो ज्ञानेश्वरको कोठातिर लागे । २०३५ असार आखिरीमा पहिलोपटक  भेटेको मदनलाई २०५० साल जेठ १ गते विहान साढे आठ वजेपछि कहिल्यै भेट भएन !

मदन भण्डारीसित चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध–सहकार्य, मित्रता र सानिध्यतामा, अत्यन्त विश्वास र आत्मियतामा, एउटै कमिटीका सदस्य र सहयोद्धा कमरेडको रुपमा ब्यतित भएको थियो । मदनसित विताएको ती दिनहरु मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरु हुन्, जसलाई म कहिल्यै विर्सन सक्दिन ।  हार्दिक श्रद्धान्जली जननेता मदन भण्डारी !!साभार :चक्रपथ डट कम

(तस्विर: उपप्रधान एवं रक्षामन्त्रीको सचिवालय)

तपाइँको प्रतिक्रिया ।