बुढानिलकण्ठ नगरपालिकामा बहुमतको आडमा एकलौटी गरियो :राजाराम बुढाथोकी
कपन अनलाइन
काठमाडौं ,असार ११।
बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका प्रतिनिधि राजाराम बुढाथोकीले नगरपालिकाको प्रतिपक्षी रहेको आफ्नो पार्टीले सकारात्मक कामका लागि सहयोग र गलत कार्यको विरोध रहने बताएका छन।
नगरपालिकाको छैटौ नगर सभामा बोल्दै नेपाली कांग्रेसका नेता बुढाथोकीले नगरपालिकामा आफ्नो पार्टीले पाउनुपर्ने सार्वजनिक लेखा समिति लगायतका महत्वपूर्ण पदहरु नदिएर एकलौटी गरेकोमा आक्रोस व्यक्त गर्दै सम्मान जनक भूमिका र जिम्मेवारीको माग गरेका थिए।
सो नगर सभामा नेकपाका नेताहरु विदुर विक्रम खड्का र रबिन अधिकारीको नाम लिदै उनले नगरपालिका भवन निर्माणको शुरुवाती दिन सम्झिएका थिए।हाल नगरपालिका भवन रहेको स्थानमा आएका अवरोधहरु तत्कालिन समयमा सर्वदलीय समितिको भूमिका प्रभावकारी रहेको भन्दै बुढाथोकीले नगर सभा तथा अन्य कार्यक्रममा नगर परिसरमा गर्नुपर्ने सुझाव दिएका थिए।
बुढानिलकण्ठ नगरपालिकाले आगामी दिनमा दिर्घकालिन महत्वका ठुला र महत्वपर्ण पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउदै बुढाथोकीले वेला वेलामा संचार माध्यममा जनप्रतिनिधि र शैक्षिक संस्था जोडिएर आएका समाचार के हो ? भन्ने प्रश्न गरेका थिए।
सधै बहुमतले मात्रै निर्णय गर्दा विकासमा समस्या पर्ने भन्दै बुढाथोकीले नगरपालिकाका सल्लाहकारको भूमिका प्रभावकारी नभएको टिप्पणी गरेका थिए।
नगरपालिकाको अनुगमन तथा अन्य समितिहरुमा आफ्नो दलको सम्मानजनक प्रतिनिधित्व हुनुपर्ने बताउदै उनले नगर सभा सफलताको शुभकामना दिएका थिए।