बिना पास सवारी चलाउनेलाई कारवाही

बिना पास सवारी चलाउनेलाई कारवाही

कपन अनलाइन

काठमाडौं ,असार ८।

बिना पास सवारी चलाउनेविरूद्द संक्रामक रोग ऐन २०२० अन्तर्गत  महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले सवारी पास विना लामो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गर्ने तीन जना सवारी चालकहरूलाई पक्राउ गरेको छ ।

जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.०६ घर हुने बर्ष २६ को राहुल डबगरले ८ जना यात्रु बोकी नेपालगंजबाट काठमाण्डौ चलाई आएको बा ४ ख ४५८० नम्बरको हाईस गाडीको, जिल्ला सुनसरी पानमरा न.पा. वडा नं.२२ बस्ने चालक बर्ष ४० को राकेश शाक्यले १९ जना यात्रु बोकी झापाबाट काठमाण्डौ ल्याएको ना ५ ख ५८३४ नम्बरको यात्रु वाहक बस तथा जिल्ला बाँके खजुरा गा.पा. वडा नं.०२ बस्ने बर्ष ३४ को रुद्र बहादुर खत्रीले १५ जना यात्रु बोकी नेपालगंजबाट काठमाण्डौ तर्फ आएको ना ७ ख ७३९५ नम्बरको यात्रुवाहक वस रोकी निज चालकहरुलाई एक जिल्लाबाट अर्को जिल्ला जान सम्बन्धित निकायबाट अधिकार प्राप्त अधिकारीले जारी गरेको पास तथा निज चालकहरु लगायत निजहरुको सवारी गाडिमा सवार अन्य व्यक्तिहरुको कोरोना भाईस पहिचान हुने PCR test report माग्दा निज चालकहरुले निजहरुको साथमा प्रहरीले माग गरेको बमोजिमको कुनै कागजात नभएको भनि बताएकोले ३ वटै सवारी साधनको चालकहरूलाई सवारी साधन, बरामद रकम सहित संक्रामक रोग ऐन २०२० अन्तर्गत आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौ पठाईएको छ ।

त्यस्तै, उक्त सवारी साधनमा सवार ४२ जना यात्रुहरूलाई किर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाईएको छ । प्रारम्भिक सोधपुछको क्रममा निज चालकहरु मध्य चालक राहुल डबगरले प्रति यात्रु २०००।- (दुई हजार) भाडा लिई जम्मा ७ जना यात्रीबाट रु १४,०००।- (चौध हजार) रकम लिएको तथा एक जना यात्रीलाई चितवनबाट बाट चढाई रु ८,००।– (आठ सय ) भाडा लिई भाडा बापत जम्मा रु १४,८००।– (चौध हजार आठ सय) लिएको, यस्तै ना ५ ख ५८३४ नम्बरको बसका चालक राकेश शाक्यले १९ जना यात्रु बोकी आएकोमा प्रति यात्रु २,०००।– (दुई हजार) को दरले रु ३८,०००।– लिएको तथा ना ७ ख ७३९५ नम्बरको बस चालक रुद्र बहादुर खत्रीले हाँकी आएको बसमा १५ जना यात्रु रहेकोमा निजले पनि प्रति यात्रु रु २०००।– (दुई हजार) को दरले ३०,०००।– भाडा लिई यात्रु ओसारपसार गरेको पाईएको छ ।

त्यस्तै, मिति २०७७।०३।०४ गते नेपालगंज बाट थानकोट तर्फ आउदै गरेको बा ४ ख ७३७३ नम्बरको HIACE गाडीमा चालक जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.०४ घर हुने लिलाधर शर्माको छोरा बर्ष ३३ को विकाश शर्माले ६ जना यात्रु बोकी आएकोले निजलाई समेत महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी संक्रामक रोग ऐन २०२० अन्तर्गत कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौ पठाईएको थियो ।फोटो सौजन्य :चन्द्रागिरी न्युज

तपाइँको प्रतिक्रिया ।