काठमाडौं महानगरपालिकाले कोभिड–१९ बाट प्रभावित करदाताहरुलाई सहुलियत दिने
कपन अनलाइन
काठमाडौं ,असार ५।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिवार राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्नुका साथै कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने उल्लेख गरिएको छ।
काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको जनाएको छ ।
स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको ब्यबस्था मिलाइने बाताउदै प्रमुख शाक्यले उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रबद्र्धन मेला आयोजना गरिने योजना प्रस्तुत गरेका थिए।
त्यस्तै काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरपालिकाको नीति छ । कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागु गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने, काठमाडौँ महानगरपालिकाका सम्पूर्ण करदाताहरुको तथ्याङ्क संकलन गरी अभिलेख अध्याबधिक गर्ने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामाग्रीहरु राख्ने कार्यलाई पूर्णतः निषेध गर्ने नीति पनि महानगरपालिकाले लिएको छ ।
आ.व.२०७७/०७८ लाई करदाताहरुको अभिलेखन वर्ष घोषणा गरी बैज्ञानिक र एकिकृत करदाता अभिलेख तयार गर्न आवश्यकतानुसार व्यवस्थापनमा स्नातक÷स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गर्ने, कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने जस्ता नीति पनि महानगरपालिकाले लिएको छ ।