हाम्रो गोरेले पनि दिब्य ज्ञान प्राप्त गरेछ ! (कविता )

हाम्रो गोरेले पनि दिब्य ज्ञान प्राप्त गरेछ ! (कविता )

कपन अनलाइन

काठमाडौँ, जेठ २१/ दिवाकर चालिसे

कार्यक्रम शुरु भयो,

हाम्रो गोरेले ब्यानर हेर्यो

अनि मंच पट्टि यसो आँखा दौडायो

सबै नै दारी र जुँगा उम्रेका पुरुष मात्रै !

अनि एक पटक मुसुक्क हास्यो हाम्रो गोरे

 

ब्याच वितरण शुरु भयो

दुइ जोडी महिला अगाडी आए

ब्याच र खादाको  बर्षात नै गराइदिए

 

भाषण सुन्यो हाम्रो गोरेले पनि

भन्दै थिए वक्ताहरु

हामीले यसो गर्नु पर्छ रे !

हामीले उसो गर्नु पर्छ रे !

हामीले त्यो गर्नुपर्छ रे !

 

बुझोस  पनि के मेरो गोरेले

सुनिमात्र  रह्यो बिचरा उसले

एक जोडी महिलाहरु फेरी देखापरे

अतिथिको अगाडी एका एक कप चिया राखिदिए

 

भाषण शुरु भयो फेरी

एउटाले भन्यो –मैले यति धेरै चन्दा दिए

अर्कोले भन्यो मैले यति धेरै समय दिए

फेरी अर्कोले भन्यो मैले यति धेरै विचार दिए

भन्नेले भनिरहे

मैले यो दिए

मैले ऊ दिए

के ! के ! दिए दिए

 

कार्यक्रम सकियो

तर हाम्रो गोरे

टाउकोमा हात लाएर बसिरह्यो

गरोस पनि के !

बिचराले केहि बुझ्नै सकेन ….!!!

 

हाम्रो  गोरे अचानक झल्याँस्स भयो

अनुहारमा खुसीका रेखाहरु दौडिए  उसका

लाग्यो – अव चाहि उसले बल्ल बिषय बुझेछ

र आज हाम्रो गोरेले

एउटा दिब्य ज्ञान प्राप्त गरेछ ।

उसले पुन : एकपटक ब्यानर हेर्यो

लेखिएको थियो

 

“महिला सशक्तीकरण अभियान कार्यक्रम”

र उसले दिब्य चक्षुले अर्थ्याईरहेको थियो

यो महिला सशक्तीकरण भनेको त

अतिथिहरुलाई ब्याच र खादा वितरण गर्नु पो रहेछ !

यो महिला सशक्तीकरण भनेको त

अतिथिहरुलाई चिया र खाजा वितरण गर्नु पो रहेछ !

 

(कबि गोकर्णेश्वर नगरपालिका ८ निवासी हुन् )

 

 

तपाइँको प्रतिक्रिया ।