भुमि बैंक स्थापना गर्ने सरकारको निर्णय दुरगामी महत्वको विषय हो :सांसद कृष्ण बहादुर राई
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राईले नेपाल सरकारले आव २०७७/०७८ को बजेटमा ल्याएको भुमि बैंक सम्बन्धि योजना दुरगामी महत्वको रहेको बताएका छन।
सरकारले प्रस्तुत गरेको बजेट माथि भएको शैदान्तिक छलफलमा बोल्दै नेकपा काठमाडौं जिल्ला कमिटि अध्यक्ष समेत रहेका सांसद राईले बजेटले जनताको आधारभूत आवस्यकताहरुको सम्बोधन गरेको बताउदै एकै वर्षमा मान्छेको सम्पूर्ण जीवन देखिने गरि बजेट आउनुपर्ने मान्यता राख्नु नहुने धारणा राखेका छन।
देशको बजेट वक्तव्य कुनै उपभोक्ता समितिको कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन नभएको भन्दै सांसद राईले प्रधानमन्त्री केपी ओलीले जनता संग गरेको वाचा पुरा गर्ने दिशामा बजेट केन्द्रित रहेकोमा सरकारलाई धन्यवाद दिएका छन।
आम जनताको समस्या समाधान गर्न सहकारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको सरकारले चुनावमा प्रस्तुत गरेको घोषणा पत्र अनुरुप बजेट आएको भन्दै सांसद राईले स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि रहेका कार्यक्रम र योजनाहरु पनि महत्वपूर्ण रहेको बताएका छन।
प्रधानमन्त्रीले पटक पटक भन्दै आएको “निरोगी नेपाली” को अवधारणामा आधारित भएर बजेट आएको भन्दै प्रधानमन्त्री एक व्यक्तिले मात्र भ्रस्टाचार अन्त्य नहुने र यसमा सर्व पक्षीय पहल र प्रयास हुनुपर्ने धारणा राखेका छन।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको महत्वका वारेमा बोल्दै सांसद राईले बजेटमा उल्लेख गरिएको निजी विद्यालयलाई सामुदायिक विद्यालयको सुधारमा सहभागी गराउने निर्णयको पुन विचार गरेर निश्चित विधि बनाउनु पर्ने धारणा राखेका छन।