अभिनव साहित्य समाजको अनलाइन कविता वाचन
कपन अनलाइन
काठमाडौं ,बैशाख ३०।
अभिनव साहित्य समाजको २१९ औं शृङ्खला धेरै जना कविहरूबाट अनलाइन कविता वाचन भएर सम्पन्न भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको लक डाउन आह्वानको पूर्ण पालना गर्दै सबै सहित्यकारहरुले आ–आफ्ना घरबाट नै रचना वाचन गरेका थिए।
सो अवसरमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, डा. बमबहादुर थापा जिताली, सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी, दमक झापाबाट ओम खनाल, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष परशुराम पराशर, वरिष्ठ कलाकार हेम पौडेल, बालमुकुन्द कार्की, गङ्गा कर्माचार्य पौडेल, निबन्ध आचार्य, प्रियम्वदा काफ्ले, शारदा पराजुली, मेनका पोखरेल आचार्य, रामकुमार पण्डित, विमल अर्याल, प्रदीप रत्न शाक्य, घनश्याम प्रसाईं, विजय विश्वास, त्रिलोचन आचार्य, प्रकाश बस्नेत गफाडी, मानन्धर अभागी लगायतले कविता, गजल, मुक्तक वाचन गरेका थिए ।
यसै महिनाको यही शृङ्खलाको कार्यक्रममा पारिजात स्मृति पुरस्कार प्रदान गर्ने यस समाजको नियमित कार्यक्रम रहेकोमा यो कोभिड– १९ (कोरोना भाइरस) को सङ्क्रमणको कारण स्थगित गरिएको छ । तर पनि यस कार्यक्रममा पारिजातको २७ औँ स्मृति दिवस र ८४ औँ जन्मदिवसको सम्झना गरिएको थियो । यस कार्यक्रममा वाचित कविताहरुलाई ए बी सी टेलिभिजनले रेकर्ड गरेर प्रसारण गरेको थियो । यसभन्दा अगाडिको २१८ औँ शृङ्खला पनि यसरी नै सम्पन्न भएको थियो ।