विश्व नै तहसनहस पार्ने गरी उत्पन्न भएको कोभिड–१९

विश्व नै तहसनहस पार्ने गरी उत्पन्न भएको कोभिड–१९

कपन अनलाइन

काठमाडौं ,बैशाख २५ /कृष्णप्रसाद उप्रेती

चाइनिजहरुको नयाँ वर्ष सुरु हुनै लाग्दा नयाँ वर्षको आगमनसँगै कोरोना भाइरस (कोभिड–१९) को छाडापन हतियारको तेस्रो विश्वयुद्ध भएझैँ करिब २१० देशमा नै गहिरो प्रभाव पर्ने गरी संसारभरि कोरोना संक्रमकहरु पीडाका साथ बाँच्न संघर्षरत छन् ।
लाखौँको संख्यामा मृत्युशैय्यामा छटपटाइरहेका जीवनको अन्तिम पलको प्रतीक्षारत छन् । हरेक प्राणीहरुमा अन्तिम श्वास फेरिरहँदा सम्म जेनतेन भए पनि डाक्टर, औषधि र भगवान्को भरोसामा रहिरहन्छन् । उक्त कुरा जस्तोसुकै आस्तिक वा नास्तिक सबै पक्षका मानवका मनमा भरोसाका कुराहरु खेलिरहन्छन् । ती कुराहरु ध्रुवसत्य पनि हो । शोकाकुल जीवितहरुले आफ्ना प्रियजन, नातागोता मृत्यु भएकाहरुको अति नै कठिनका साथ दाहसंस्कार गर्नका लागि भ्याइनभ्याइ रहेको छ भने बचाउने र बाँच्ने संघर्षका माझमा विश्वभरि भयावह तरङ्गबाट भयभित मनमा उत्पन्न कोलाहल शोकबाट उत्पन्न चित्कार व्याप्त भइरहेको छ ।

हुन सक्छ यो त केबल कोरोना भाइरसको सानो अत्याचार मात्र हो । विश्वमाझमा यसको सानो एकमात्र अवशेस बाँकी रहेमा मात्र पनि यसले अत्यन्तै विकराल रुप लिई लाखौँकोबाट करोडौँको संख्यामा क्षतविक्षत हुने गरी आफ्ना प्रिय पात्रहरुको अस्तित्व नै मेटाउने गरी झुक्याउन सक्छ ।
अत्यासमय कोलाहल हृदायविदारक चित्कार, मलिनो सुस्केरा हाल्दै आँखैको अगाडिबाट सदाका लागि अनगिन्ती संख्यामा देह त्याग गर्नेहरु हुन सक्छन् ।
देशविदेश, प्रदेशतिर पढ्न गएका कमाएर, पेट र परिवारहरुलाई पाल्न आँफु बाँच्न र परिवार बचाउन अनि जीवनका हरेक दुःखलाई छाडी सुखभोग गर्ने र गराउने सपना र उद्देश्य बोकेर घर बाहिर गई हरेक किसिमका काम गर्ने ती तमाम मजदुरहरु र विद्यार्थीहरुको समेत विचल्ली भइरहेको छ ।

अझै कसैकसैको त चुलो खाली हुन लागेको त कसैको चुलो रित्तो भइसकेको गुनासो आइरहेको छ ।
कोरोना संक्रमित सबै देशहरुमा कोरोना भाइरस नसरोस् भनी जनहितको लागि भनेर सरकारले लकडाउन गरेको छ । कति देशका मान्छेले सरकारको निर्देशनलाई अबज्ञा गरी हिँडेका छन् भने कति देशमा निर्देशनको पालना भइरहेको पनि छ ।जस्तोसुकै विरामी भए पनि मुख्य रुपमा काम गर्ने भनेको डाक्टरले नै हो ।

चेकजाँच गर्ने, औषधि दिने, ज्यान बचाउने उनै डाक्टरले नै हो । हामी मानिसलाई नभई नहुने सुरक्षाको लागि सुरक्षाकर्मीहरु पनि दिनरात, भोक, शोक नभनी आफ्ना जनधन नभनी कर्तव्य पालना गरिरहेका छन् तर छुटपुट कतै मानव अधिकार उल्लंघन भएका एवं कुटपिट गर्ने र अपशब्द बोल्ने गरेको गुनासो पनि आएका छन् ।

आफन्तहरु मर्दा विरामीहरुलाई अस्पताल लैँजादा कतै अस्पतालमा भर्ना नलिने त कहिले एम्बुलेन्स नपाउने, कहिले शबवाहन नै नपाउने अवस्था छ भने मानिस अति आवश्यक काममा हिँडडुल गर्नु पर्दा मानिसलाई ठुलै आपतविपत परेको छ । नेपालमा २०७२ वैशाख १२ मा गएको भूकम्पले आममानिसको तन मन धन, हरेक चिजमा अत्यास तथा अति नै कष्टकर जीवन बिताई भर्खरै मात्र त्यो घटना विर्संदै थिए भने अहिलेको कोरोना भाइरसद्वारा फेरि मनमा निराशापन उत्पन्न हुँदै भूकम्पले घरबाहिर लखेट्यो भने अहिलेको कोरोनाले घरभित्रै थुनिदिएको छ ।

घरबाहिर निक्लँदा होस् वा घरभित्र थुनिँदा होस् दुबै अवस्थामा कुनै जातजाति, भाषाभाषी, धर्म, आस्तिक,नास्तिक,धनी, गरिब जे जस्तो भए पनि प्राकृतिक विपद आउँदा जात भनेको पुरुष र महिला मात्र अनि धर्म भन्नाले आफुले  मान्दै आएको धर्म मान्नुपर्छ र सदा सर्वदा मानवीय दुई जाति महिला पुरुषलाई गन्ति गर्दा मानव धर्मलाई बढावा दिनु पर्छ भन्ने संकेत एकै ठाउँमा उक्त दुबै प्राकृतिक विपद बाट पाठ सिक्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।