काठमाडौं महानगरको वडा नं. ३ मा दैनिक ३ हजार ७ सयलाई निशुल्क भोजन
कपन अनलाइन
काठमाडौं ,बैशाख १७।
काठमाडौं महानगरको वडा नं. ३ ले दैनिक ३ हजार ७ सय व्यक्तिलाई निःशुल्क भोजन उपलव्ध गराइरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका समयमा कमजोर आर्थिक अवस्था भएका, आफ्ना कोही नभएका, दैनिक काम गरेर खानु पर्ने वर्गका मानिसहरुलाई भोजनको व्यवस्था गरिएको वडा नं ३ का अध्यक्ष दिपक केसीले जानकारी दिएका छन।
वडाको आग्रहमा बोधिसतुवा बिहारले अव्यबस्थित बस्तीमा भएका परिवार, टिचिङ हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी दैनिक १३ सय जनाका लागि खानाको व्यवस्था गरिएको अध्यक्ष केसीले बताए।
त्यसैगरी नारायण गोपाल चोकको एरिकल व्याङ्क्वेटका तर्फबाट होम बुढाथोकीले दैनिक बिहान १ हजार जनाका लागि, मेघा पार्टी प्यालेसले दैनिक बेलुकी ८ सय जनाका लागि, सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्युरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी २ सय जनाका लागि खाना र पानस पार्टी प्यालेसले लकडाउन व्यवस्थापन गर्न खटिने ४ सय जना राष्ट्रसेवकका लागि खाजाको व्यवस्था गरेको केसीले जानकारी दिएका छन।
वडालाई ४ वटा क्लष्टरमा वडालाई बाढेर नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, स्थानीय क्लव, राजनीतिक प्रतिनिधिको समूह बनाएर वडाले अहिलेसम्ममा ४ हजार ३ सयजनालाई राहत वितरण गरिसकेको वडाध्यक्ष के.सी. बताएका छन।
राहत दिनका लागि वडामा भएका खाद्य पसलहरुबाट प्रस्ताव मागेर थोरै मूल्य कवोल गर्नेसँग सम्झौता गरेर कुपन पाएकाले खाद्य पसलमा गएर प्रचलित व्यवस्थाको उल्लंङ्घन नहुने गरी राहत वितरण गरिएको वडाले जानकारी दिएको छ।