गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन माइकिंग
कपन अनलाइन
काठमाडौं बैशाख ३। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट वडाबासीलाई बचाउन लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेको छ । मंगलबार वडा अध्यक्ष सहित वडा सदस्य जय राम महत, वडा सदस्य उमा थापा, बिष्णु सुनाम,बालकृष्ण श्रेष्ठ,महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रमुख प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनी, र स्थानीय स्वयं सेवक सहितको टोलीले कोरोना सम्बन्धि सचेतना जगाउदै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेका थिए ।
हिजोनै वडामा वडा समिति र प्रहरी सहितको बैठक पश्चात गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा लकडाउनलाइ कडा पार्ने निर्णय भएको छ ।वडाबासीको स्वास्थ्यप्रति जनप्रतिनिधिहरु गम्भीर भएको जानकारी दिंदै वडा अध्यक्ष श्री कुमार श्रेष्ठले आफुहरु वडाबासीमाझ लकडाउनलाइ पूर्ण रुपमा पालना गर्न अनुरोध सहितको सन्देश दिन माइकिंग गर्दै पुगेको बताए ।
सरकारले विश्वव्यापी महामारीका रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि चालेको कदमअन्तर्गत ‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको र वडामा अनावश्यक रुपमा भिड बढे संगै स्थानीयको गुनासो लाइ सम्बोधन गर्दै वडाले लक डाउनलाइ पूर्ण रुपमा पालना गराउन लक डाउनलाइ कडा पार्न लागिएको बताए ।
विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले पूर्ण रुपमा वडावासीलाई पालना गर्न आव्हान सहित वडा नं ४ मा रहेको खाद्यान्न तरकारी फलफुल पसलहरु बिहान ९ बजे सम्म र बेलुकी ४ बजे देखि ६ बजे सम्म मात्र खोल्न अनुरोध गरिएको थियो भने मेडिकल पसल बाहेक अन्य पसलहरु पूर्ण रुपमा बन्द गर्न समेत वडाले माइकिंग मार्फत अनुरोध गरेको थियो ।
माइकिंग मार्फत मार्निंङ वाक इभिनिङ वाक र मन्दिर दर्शन र बिभिन्न खेलहरुका नाममा बाहिर निस्किएको पाइएकोले सो कार्य पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत भएको हुँदा सो निर्णयलाइ बेवास्ता गरेमा कानुन बमोजिम कारबाही गरिने पनि जानकारी गराइएको थियो ।साथै वडाले सो सम्बन्धि सार्वजनिक सुचना समेत जारी गरेको छ ।
फोटो सरोज बस्नेत