बहराइनमा २२ नेपाली संक्रमित, सबैको अवस्था सुरक्षित

बहराइनमा २२ नेपाली संक्रमित, सबैको अवस्था सुरक्षित

कपन अनलाइन

काठमाडौं ,चैत ३०।

वैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेका २२ नेपाली युवा कोरोना भाइरसबाट संक्रमित छन् । त्यहाँस्थित श्रम सहचारीको कार्यालयले ती नेपालीबारे बुझ्न खोज्दा बहराइन सरकारले ‘आवश्यक परे हामी नै सम्पर्क गर्छौं’ भन्ने जवाफ दिएको छ ।

‘हामीले हाम्रोतर्फबाट उनीहरुको उपचारमा गर्नुपर्ने योगदान र भूमिकाबारे सोधेका थियौँ’, श्रम सहचारी दामोदर दाहालले जनआस्थालाई भने, ‘अवस्था चिन्ताजनक नरहेको र उपचारका सबै काम बहराइन सरकारले नै गर्छ भन्ने जवाफ पायौँ ।’

कोरोना भाइरसको संक्रमणका कारण बहराइनमा एक हजार ४० जना संक्रमित छन् । त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबै त्यहीँका स्थायी बासिन्दा हुन् ।

संक्रमित १२ नेपालीको अवस्था सामान्य रहेको सूचना पाएपछि  मानामास्थित नेपाली दूतावासले उक्त सूचना काठमाडौंस्थित परराष्ट्र एवं श्रम तथा रोजगार मन्त्रालयमा पठाइसकेको छ । तर, संक्रमित व्यक्तिहरुको नाम भने गोप्य राखिएको छ ।

‘परिवारमा अनावश्यक चिन्ता नहोस् भनेर नाम सार्वजनिक गरिएको छैन, त्यसमाथि यहाँको सरकारले पनि खतरामुक्त भनेपछि धेरै चिन्ताको विषय बनाइएन’,दाहालले बताए ।

संक्रमित नेपाली श्रमिकहरु ४५ वर्ष मुनिका हुन् । थप नेपाली संक्रमित नहुन् भन्नका लागि उच्च सजगता अपनाइएको र बसिरहेको ठाउँ सुरक्षित नलागे दूतावासमै आएर सुरक्षित हुन सकिने गरी व्यवस्था मिलाइएको पनि दाहालले बताएका छन् ।समाचार साभार :जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।