असहाय बाछाबाछी खोज्दै चक्रपथमा चक्कर

असहाय बाछाबाछी खोज्दै चक्रपथमा चक्कर

कपन अनलाइन

काठमाडौं ,चैत २७/उत्तम पुडासैनी 

एउटा सानो उद्दार बाट शुरु भएको उत्तम पुडासैनीको असहाय बाछाबाछी संरक्षण अभियान ३२५ औ  दिनको यात्रा चक्रपथमा पुगेको छ उनले केहि मित्र हरु संगको सहकार्यमा शुरु गरेको अभियानमा उदारमनका सहयात्री हरुले सहयोग गरिरहेका छन।

घाइते बनेका असहाय बाछाबाछीहरु तन्दुरुस्त भै आफुलाई सुम्सुम्याउदा अघोर आनन्द प्राप्त हुने बताउदै निरन्तर सक्रिय पुडासैनीको चक्रपथ चक्करको अनुभव :

चक्रपथ चक्कर मार्दा उपत्यकालाई असहाय बाछाबाछी मुक्त बनाउने उदेश्य सहित असहाय बाछाबाछीको खोजीमा आज २०७६ चैत्र २६ गते चक्रपथलाई एक चक्कर मार्दा ८ वटा असहाय बाछाबाछीको उद्धार गरिएको छ ।

पशुपती क्षेत्र बिकास कोष, एसपिसिआई लगायतका संस्थासंगको सहकार्यमा वाग्मती प्रदेश स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र समेतको सहभागितामा काठमाडौंको गौशालाबाट पशु उद्धार एम्बुलेन्स सहित गरिएको यात्राका क्रममा बल्खु पुलबाट २ वटा तथा स्वयम्भुबाट ५ वटा र बालाजु बसपार्क नजिकबाट १ वटा असहाय बाछाको उद्धार गरिएको थियो ।

उद्धार कार्यमा पशुपती क्षेत्र बिकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, एपिसिईका अध्यक्ष बिकेश श्रेष्ठ तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख नारायण श्रेष्ठ तथा समाजसेवी आशिष प्रसाईं समेतको सहभागिता रहेको थियो ।

उपत्यकाभित्र रहेका सबै असहाय बाछाबाछीको उद्धार गर्ने र त्यसपछि सडकमा आउने जतिपनि बाछाबाछीको जिम्मेवारी स्थानीय नगरपालिकाले ब्यहोर्न आग्रह गर्दै प्रारम्भ गरिएको यस उद्धार कार्यमा साथ र सहयोगका लागि सबैसंग आग्रह गर्दछौं ।

परिवर्तनको प्रारम्भ आफैंबाट हुनुपर्छ भन्ने मान्यता सहित ३२४ दिन अगाडि प्रारम्भ भएको असहाय बाछाबाछी संरक्षण अभियान यसबखत एक कदम अघि बढ्दै उपत्यकाभित्र रहेका ३ हजार असहाय बाछाबाछीको संरक्षणको तयारीमा अघि बढ्दै गरेको अवस्थामा स्थानीय नगरपालिका तथा वडाहरुका तर्फबाट नैतिक र भौतिक सहयोगको अपेक्षा समेत राखिएको छ ।

हामी सबैको सत्प्रयासले यो कर्म सम्भावना तर्फ अघि बढ्ने हामीले बिश्वास लिएका छौं । कृपया आआफ्नो क्षेत्रमा रहेका असहाय बाछाबाछीका बारेमा जानकारी गराई हामीलाई सहयोग गर्नुहुन समेत सबैमा आग्रह गर्दछौं ।

तपाइँको प्रतिक्रिया ।