सहयोग सहित प्रकोप प्रभावित जनताको माझमा ओखलढुंगाका सांसद यज्ञराज सुनुवार
कपन अनलाइन।
ओखलढुंगाका प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवार जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जनताको माझमा पुगेका छन।
राजधानीबाट २० थान पिपिई र ६ सय थान सर्जिकल माक्स सहित जिल्ला पुगेका सांसद सुनुवार जिल्लामा कोरोनाको संक्रमण रोक्न भईरहेका पहलबारे अनुगमन तथा निरीक्षण गरिरहेका छन।
शनिवार बिहान प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कमाण्ड पोष्टले जिल्ला कोरोनाको संक्रमण रोक्न भएका प्रयास बारे जानकारी गराएको थियो ।
जिल्लाको अवस्था, आवश्यकता, सम्भावना र चुनौती सहितका विषय सांसदलाई जानकारी गराईएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउदै जिल्लामा कोरोना विरुद्ध हालसम्म भएका निर्णय, कार्यान्वयनको अवस्था सहितका विषयमा जानकारी गराएका थिए।
त्यस पश्चात सांसद यज्ञराज सुनुवार सहितको टोलीले जिल्लाको मोलुङ गाउँपालिकाले शहीद आदर्श क्याम्पसमा तयार गरेको क्वारेन्टाइन अनुगमन गरेको थियो।
अनुगमनमा सांसद सुनुवारसहित सिद्धिचरण नगरपालिकाका नगरप्रमुख मोहनकुमार श्रेष्ठ, मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राई, प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलगायत सुरक्षा निकायका प्रमुख सहितको टोली सहभागी थियो ।
सांसद सुनुवारले ‘स्थानीय, प्रदेश र संघ सरकार, प्रशासन र नागरिकहरु बिचमा भए गरेका काम अनुगमन गर्दै आवश्यकताका आधारमा सरकारको भूमिका बढाउन लागि पर्ने बताउदै जिल्ला र जनता बचाउने दायित्वमा जुट्दै केही दिन जिल्लाकै स्थानीय तहहरुमा रहने सांसद जानकारी दिएका छन।
सांसद सुनुवारले शनिवार नै सुनकाेशी गाउँपालिकाकाे केन्द्र मूलखर्क पुगेर त्यहाँकाे तयारीबारे जानकारी लिएका छन् । सो अवसरमा गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले सुनकाेशी गाउँपालिका विपद् व्यवस्थापनका लागि अव्वल तयारीका साथ जुटेकाे जानकारी गराएका थिए ।
सांसद सुनुवार सहितको टोलीले मोलुङको क्वारेन्टाइनमा राखिएका ३ जनाको स्वाब परीक्षणका लागि प्रक्रिया अगाडि बढाउन समेत गाउँपालिकालाई निर्देशन दिएको मोलुङका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए । सांसद सुनुवारले गाउँ गाउँमा कोरोना विरुद्ध जागरणमा जुट्न स्थानीय सरकारलाई आग्रह गरेका छन।
