जोखिममा जनप्रतिनिधि !

जोखिममा जनप्रतिनिधि !

कपन अनलाइन

काठमाडौं ,चैत १९/पुन्यराज पुडासैनी 

विश्व अहिले कोभिड १९ कोरोना भाइरसको प्रकोप संग जुधिरहेको छ। सन् २०१९ डिसेम्बर महिना बाट चीनको बुहान प्रान्तमा यसको प्रकोप पहिलो पटक देखिएको छ। त्यस पश्चात विस्वका अधिकांस मुलुकमा यसको संक्रमण फैलिएको छ जसका विरुद्ध विश्व संघर्षरत रहेको छ।विश्व स्वास्थ्य संगठनले दोस्रो विश्व युद्ध पश्चातको ठुलो महामारीका रुपमा घोषणा गरेको यस महामारीका विरुद्ध विस्वका नागरिक एक भएर लडिरहेका छन।

विस्वको राजनीतिक ,आर्थिक र सामाजिक क्षेत्रमा बहुआयामिक असर पारिरहेको यस महामारीले मनोबैज्ञानिक असर झन् बढी पारेको छ।सधै विस्वका मानव जाति एकजुट भएर हातेमालो गर्नुपर्दछ भनिरहेका वेला अहिले प्रत्येक मानव दुरी तय गरेर अलग बनिरहेका छन अनि मानव संगै मनहरु पनि अलग बनेका छन।

विश्व अर्थतन्त्रको दृश्य परिवर्तन गर्न सक्ने महामारी भनेर चर्चा पाइरहेको कोभिड १९ को महामारी संग लड्नका लागि अहिले संसारका सबै मानिसहरु एकमत भएर कुनै न कुनै सामाधानको उपायको व्यग्र प्रतिक्षारत रहेका छन।

यस्तो विषम परिस्थितिमा नेपाल सरकारले पनि उच्च स्तरीय समन्वय समिति बनाएर जोखिम संग लड्ने कामलाई जारि राखेको छ भने सरकारको महामारी विरुद्धको यस लडाईको अग्र मोर्चामा जनप्रतिनिधिहरु रहेका छन।

२०७४ शालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुदै संघीय नेपालको पहिलो स्थानीय सरकारका रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरु अहिले जनाताहरु संग सिधै जोडिने भरपर्दो माध्यम हुन्। अहिले उनीहरु तल्लो तहमा रहेका जनताको आवाज सुन्ने पहिलो तह हुन् भने संघीय र प्रदेस सरकारको नीति र कार्यक्रमको कार्यन्वयन गर्ने जगका रुपमा रहेका छन।

आफु निर्वाचित भएको अढाई वर्ष पुरा गर्दा तमाम कानुन र विधि निर्माण संगै विकासका प्रारम्भिक खाका कोरेर जनसेवामा लागिरहेका जनप्रतिनिधिहरुले सायदै यस्तो प्रकोपको सामना गर्नु पर्ला भनेर सोचेका थिएनन किनकी यस्तो आपतकालीन विपत्तिको अनुमान विस्वका कुनै पनि अनुसन्धान संस्था र बैज्ञानिकले सम्म अनुमान लगाउन सकेका थिएनन।

अहिले स्थानीय तहका जनप्रतिनिधिहरुको दैनिक तालिकामा पुरै परिवर्तन आएको छ।हिजो विकास र बजेटका वारेमा कुदिरहेका उनीहरु अहिले राहत वितरण ,तथ्यांक संकलन,आपतकालीन उद्दार र संक्रमण रोकथाममा सक्रिय रहेका छ। जनप्रतिनिधिहरुले अहिले जनताको पेट भर्न पहल गर्ने देखि केन्द्रिय सरकारका कार्यक्रम लागु गर्नुपर्ने सम्मको जिम्मेवारी बहन गर्नु परिरहेको छ।

यसका लागि उनीहरु अहिले जनताको समिपमा गैरहेका छन जुन यस अफ्ट्यारो परिस्थितिमा अनिवार्य छ तर पनि त्यो संगै जनप्रतिनिधिहरु संक्रमण जोखिमको उतिकै खतरामा रहेने गरेका छन।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटिका अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईले भने झैँ “कोरोनालाई मान्छेले देख्दैन ,मान्छेलाई कोरोनाले छोड्दैन”  र जनप्रतिनिधिहरुले अधिक मानव सम्पर्कमा रहनु पर्ने भएकाले अधिक सावधानी अपनाउनु पर्ने देखिन्छ।

राहत वितरण ,तथ्यांक संकलन ,जनसम्पर्क र आपतकालीन उद्दार जस्ता समयमा जनप्रतिनिधिहरु विभिन्न क्षेत्रमा आवतजावत गरिरहका एम्बुलेन्स र सवारी चालक ,सुरक्षाकर्मी र स्थानीयको सम्पर्कमा आइरहेका हुन्छन। जसले संक्रमणको जोखिम बढाई रहेको हुन्छ भने अझ विदेस बाट आएका नागरिकको स्वास्थ्य परिक्षणको समयमा बढी सावधानी अपनाउनु पर्ने देखिन्छ ।

तर यसमा धेरै स्थानमा जनप्रतिनिधिहरुले सावधानी अपनाइएको देखिदैन जसले गर्दा जोखिमको मात्र बढी हुने देखिन्छ।यसका लागि सामाजिक दुरी र आवस्यक स्वास्थ्य सतर्कता अपनाउने तथा जनसम्पर्क गर्दा स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने देखिन्छ।

स्वास्थ्य संगै अहिले जनप्रतिनिधिहरु मनोबैज्ञानिक रुपमा पनि प्रभावित बनेका छन। दिनभर धेरै जनसम्पर्कमा रहेर आउदा संक्रमणको जोखिम बढी हुने हुदा पारिवारिक रुपमा संक्रमणको खतरा संग उनीहरु जुध्न बाध्य भएका छन।विशेष परिस्थितिमा आएको गहन जिम्मेवारी बहन गर्दा उत्पन्न हुने आत्मवलले यो मनोबैज्ञानिक दवावलाई परास्त गरेर अर्कै उर्जा प्राप्त हुने एक नगर प्रमुख बताउछन ।

सिमित श्रोत ,आपतकालीन व्यवस्थापन र असहज परिस्थितिमा रहेका जनप्रतिनिधिहरुको गतिशिलता र सक्रियता नै महामारी सरकारको  लडाईमा आवस्यक र अनिवार्य रहेको छ । जसका लागि उनीहरु सुरक्षित र स्वस्थ हुन् जरुरि रहेको छ।

प्रकृति र बिज्ञान दुबैले मानव जातिलाई दुरी कायम गरेर रहन बाध्य बनाएको यो संवेदनशील समयमा भोलि कुनै जनाप्रतिनिधिलाई कतै कुनै संक्रमण देखिएको खण्डमा यसले नेपाल सरकारकै एक्सनमा असर पर्नेदेखिन्छ । त्यसैले यस्तो समयमा सुरक्षाका सबै तयारी गर्नबाट जनप्रतिनिधिहरु सचेत बन्नुपर्ने देखिन्छ।

यस्तो जोखिम देखिएमा यसले सम्पूर्ण राष्ट्रका जनप्रतिनिधिलाई प्रभाव पार्ने भएकोले सबैले सचेत हुनु जरुरि रहेको एक नगरप्रमुख  बताउछन। तर जोखिम छ भन्दैमा मैदान छोडेर भाग्दा जनताको मतले पोल्नेछ त्यसैले चुनौतीको पहाड अवस्य फोडीनेछ उनले दृढविस्वास व्यक्त गरे।

तपाइँको प्रतिक्रिया ।