काठमाडौं महानगरपालिका वडा १० मा राहत लिन नाम दर्ता गराउनेको संख्या ५०० नाघ्यो
कपन अनलाइन
काठमाडौं,चैत १८ ।
काठमाडौं महानगरको वडा १० मा राहत लिन नाम दर्ता गराउनेको संख्या ५०० नाघेको छ । मंगलबार बिहान मात्र ५० जना व्यक्ति नाम टिपाउन वडामा पुगेका थिए । कार्यालयको ढोकामा नाम टिपाउने व्यवस्था गरिएको छ ।
नाम टिपाउँदा टेलिफोन नं, ठेगाना र कामको विवरण लिने गरिएको छ । यसरी नाम टिपाउनेमा घर—घरमा गएर काम गर्नेहरु, भरिया तथा दैनिक ज्यालादारीमा काम गर्नेको संख्या धेरै छ ।
कोभिड — १९ (कोरोना) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लक डाउन गरेपछि अरुको सहारामा बाँचेका र दैनिक ज्यालादारीमा गुजारा चलाउनेहरुले खाना र खाजा खान नपाउने अवस्था सृजना हुने भएकोले महानगरले यस बर्गका परिवारलाई वडामार्फत राहत उपलब्ध गराउने निर्णय गरेपछि वडामा मानिसहरु पुगेका हुन् ।वडामा १ लाख बढी जनसंख्या छ ।
यसमध्ये ३ वटा अव्यवस्थित बस्ती छन् । असहाय, विपन्न र दैनिक ज्यालादारी गरेर गुजारा टार्ने स्थानीयका बारेमा जानकारी दिँदै वडाध्यक्ष रामकुमार के. सीले वडामा भएका ३ वटा अव्यवस्थित बस्तीमध्ये देवीनगरमा ३७, बिनायक नगरमा ४५ र शंखमुलमा १०७ घर रहेको जानकारी दिए।
वडाले पहिलो चरणमा वितरणका लागि ३० किलो भउका १०० बोरा चामल, २०० लिटर तेल, ३०० के. जि. नुन र ४०० किलो मुसुरोको दालका बोरा वडामा ल्याएर प्याकेट बनाउने काम भइरहेको छ ।
वितरणका लागि वडाले पहिलो चरणमा ५ किलो चामल, डेढ किलोग्राम दाल, १ के. जि. नुन र आधा लिटर तेलको प्याकेट तयार पारेको छ ।वडाध्यक्ष के. सी. का अनुसार पहिलो चरणमा सामाजिक दुरी कायम राखेर बडाबाटै खाद्य सामाग्री बाँड्ने र दोश्रो चरणमा घर—घरमै पुर्याउने योजना रहेको बताए ।