नगरवासीको सुरक्षाका लागी तारकेश्वर नगरपालिकाको महत्वपूर्ण पहल

नगरवासीको सुरक्षाका लागी तारकेश्वर नगरपालिकाको महत्वपूर्ण पहल

कपन अनलाइन

काठमाडौं ,चैत १६ ।

तारकेश्वर नगरपालिकामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि तारकेश्वर नगरपालिकाले २ वटा ईमरजेन्सी टिम खडा गरिएको छ । नगर प्रमुख रामेश्वर बोहराको नेतृत्वमा, ११ वटै वडाध्यक्ष सहितको जनप्रतिनिधिहरुको सहजिकरण टिम र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा प्रशासन शाखा प्रमुख, स्टोर शाखा प्रमुख, लेखा शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखका साथ डाक्टर सहितको टिम रहने गरि २ वटा ईमरजेन्सी टिम खडा गरिएको छ । नगर प्रमुख रामेश्वर बोहराको अध्यक्षतामा बसेको बैठकले जनपक्षिय निम्न निर्णयहरु गरेको छ ।

१.नगरपालिका भित्रका नागरिकहरुलाई घर–घरमा बस्नका लागि अनुरोध गर्दै वडाहरुले माइकिङ गर्ने ।

२.किटनासक औषधि तथा आवश्यक खर्च स्वरूप प्रत्येक वडालाई ५०–५० हजार वितरण । शाङ्लामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा २५ शैयाको आइसोलेसन बेड राख्ने ।

३.भविष्यमा आइपर्ने चुनौतिलाई सामना गर्न प्रत्येक वडाले आफ्नो वडाभित्र सम्भावित ठाउँहरु पहिचान गरी नगरपालिकामा पेस गर्ने ।

४.तारकेश्वर नगरपालिका प्रवेश गर्ने टाखा छहरे, टोखा, मनमैजु पुल, गुम्वा पुल, नेपालटा–शेषमती पुल, दर्गुनेपानी, फुलबारी गेट, मुडखु, तिनपिप्ले लगायतका स्थानबाट प्रवेश गर्ने नागरिकलाई प्रहरिको चेकजाँच पछि मात्र नगर प्रवेश गराउने ।

५.नगरपालिका भित्र रहेका अनाथ–बाल–बृद्ध–असहाय आश्रम, गुरुकुल, दैनिक ज्यालामा काम गर्ने मजदूरहरुका लागि दैनिक उपभोग्य सामाग्रीको व्यवस्था मिलाउन वडा कार्यालयहरुले बुझेर नगरपालिकामा विवरण पेस गर्ने ।

६.नगरभित्र खाद्य सामाग्री, तरकारी, ग्याँस र औषधिको अभाव हुन नदिन बिक्रेताहरुसँग सम्र्पक गरेर समन्वय गर्ने ।

७.तारकेश्वर नगरपालिकाको नगर उपप्रमुख भवानी डोटेल धितालको संयोजकमा वडा अध्यक्ष विदुर सापकोटा, कर्मचारी तिर्थराज थापामगर, स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारी र सूचना प्रमुख नरहरि गौतमको एक टोली गठन गरिएको छ ।फोटो :फरक पत्र

तपाइँको प्रतिक्रिया ।