कोरोनाका कारण निर्माण क्षेत्र प्रभावित, सरकारलाई सहयोग गर्न व्यवसायी तयार, व्यवसायीका समस्याबारे सरकारको ध्यानाकर्षण

कपन अनलाइन

काठमाडौं, चैत १०। नेपाल निर्माण व्यवसायी महासंघले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने भएको छ ।

आइतबार राजधानीमा सम्पन्न महासंघ स्थायी समितिको बैठकले सरकारलाई सहयोग गर्ने सहित कोरोनाको त्रासका कारण निर्माण क्षेत्रमा उत्पन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । बैठकले उपलब्ध स्रोत साधन र जनशक्तिको आधारमा सचेतना एवं सुरक्षा अपनाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित् आयोजना प्रमुखहरुसँग समन्वय गरी अति आवश्यक सेवा एवं निर्माण कार्यहरु सुचारु गर्ने गराउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड—१९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले गरेका निर्णयहरुका कारण मानवीय दृष्टिले समेत निर्माण मजदुरहरुलाई कार्य क्षेत्रमा खटाउन सक्ने अवस्था नरहेको महासंघले जनाएको छ । यसरी निर्माण कार्यहरु सुचारु नभएको कारण आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन नसक्ने देखिएकोले यस सम्बन्धमा बैठकले नेपाल सरकारको ध्यानाकर्षण गराएको महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अधिकांश क्रसर उद्योग बन्द भएकोले नदीजन्य निर्माण सामाग्री हाल उपलब्ध नभएको र ढुवानी सेवा समेत प्रभावित भएकाले निर्माण कार्य संचालन गर्न कठिन भएको तर्फ पनि बैठकले सरकारको ध्यानाकर्षण नेपाल गराएको छ ।

निर्माण व्यवसायीहरुबाट निर्माण कार्य सम्पन्न गरी सकिएको र हस्तान्तरण हुन बाँकी रहेको भएतापनि सरकारले उक्त स्थान प्रकोप नियन्त्रणका लागि प्रयोग गर्न चाहेमा सम्बन्धित् निर्माण व्यवसायीहरु र सरोकारवालाहरुसँग समन्वय गरी ती स्थानहरु उपलब्ध गराउन सहज वातावरण बनाउन सहयोग गर्ने निर्णय बैठकले गरेको छ । संकटको यस क्षणमा निर्माण व्यवसायीहरुले बैङ्कमा तिर्न बुझाउन पर्ने किस्ता एवं ब्याज भुक्तानीमा समस्या पर्ने भएकोले ब्याज मिनाह एवं किस्ता र नेपाल सरकारलाई बुझाउनु पर्ने आय कर, मुल्य अभिबृद्घि कर लगायत रकम बुझाउन पर्याप्त समय प्रदान गर्न बैठकले नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।