कोरोना भाइरस जोखिम न्यूनीकरण तथा सतर्कता अपनाउन गोकर्णेश्वर नगरपालिकाको आवश्यक तयारी शुरु
कपन अनलाइन
काठमाडौं चैत्र,८ ।कोरोना भाइरसको जोखिम न्यूनीकरणका तथा सतर्कता अपनाउन गोकर्णेश्वर नगपालिकाले आवश्यक तयारी थालेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा नगर स्तरीय बिपद ब्यवस्थापन समितिको बैठक बसी नगरप्रमुख चालिसेको अध्यक्षतामा क्विक रेस्पोन्स टिम समेत गठन गरिने भएको छ ।
उक्त बैठकमा बागमती प्रदेश का प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा,नगर प्रुमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी , महानगरिय प्रहरी वृत बौद्धका कार्यलय प्रमुख डिएसपी नबिन कार्की नेपाली सेनाका क्याप्टेन गोकर्णेश्वर नगरपालिका का प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित (क्षेत्री) वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय,नेपाल मेडिकल कलेजकी डा उर्मिला भारती,शंखरापुर् अस्पतालका डा सुरेश प्रसाद दंगाल ,माधब प्रसाद ढुंगाना,नेपाल अर्थोपेडिक अस्पतालका डा. युवराज खरेल, मिना गुरुङ, श्याम प्रसाद रुपाखेती, स्वस्थ्या चौकीका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले कोरोना भाइरसको बारेमा संक्षिप्त जानकारी गराउदै स्वास्थ्य शाखाले गर्दै आएको तयारीको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोना भाइरस संक्रमण नहुने नगरपालिकाले बिसेष सतर्कता अपनाउन अनुरोध गरेका थिए। संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीले जोखिमपूर्ण ढङ्गले उपचार र उद्धारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ, त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीलाई विशेष ढङ्गको प्रोत्साहन र प्रशिक्षणको थालनी गर्नुपर्ने मा जोड दिएका थिए ।
कार्यक्रममा डा युवराज खरेलले सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउदा भीडभाड बढ्ने भन्दै गम्भीर बिरामी र कोरोनाको लक्षण देखिएमात्र अस्पतालमा आउन आग्रह गरेका थिए। सामान्य प्रकारका बिरामीले अस्पतालमा भीडभाड हुँदा उपचारमा समस्या हुने पनि बताएका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले हाल गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा कामको खोजीमा आउनेहरु धेरै भएको हुँदा उनीहरुलाई समेत बिषेश निगरानी गर्न आवश्यक रहेको बताएका थिए। जोखिम न्युनीकरणका लागि आ–आफ्नो स्तरबाट पहल गर्नुपर्ने मा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत बौद्धका कार्यलय प्रमुख डि एस पी नबिन कार्कीले संक्रमणबाट पूर्वसतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको र अनावश्यक भिड भाड नगर्नको लागि अनुरोध गर्दै त्यसको लागि प्रहरीले सक्रियता बढाएको बताए। उनले जनचेतनाको लागि प्रहरीले पनि काम गरिरहेको र प्रहरी नागरिकको सुरक्षाको लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको बताए। उनले कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेका विरुद्ध सूचना सङ्कलन गरी नेपाल प्रहरीलाइ जानकारी दिन अनुरोध गर्दै कालोबजारी गर्ने लाइ कारबाही गर्ने पनि स्पष्ट पारेका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिका भित्र कोरोना भाइरस संक्रमण हुन नदिन सतर्कता अपनाउनको लागि तयारी शुरु गरिसकेको जानकारी गराएका थिए । उनले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुपर्ने अवस्था नरहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेका थिए । उनले सरकारले दिएको निर्देशनलाइ अक्षरस पालना गर्दै आफु पनि बाँचौ र अरूलाइ पनि बचाउ भन्ने भावनाका साथ जनता आफै जागरूक हुन अपिल गर्दै उक्त भाइरस बारे जनचेतना जगाउन प्रचार प्रसारमा नगरपालिकाका सम्पुर्ण संयन्त्र लगाउने जानकारी गराए।
उनले नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल र वडा नं २ को स्वास्थ्यलाइ सहकार्यमा आइसुलेसन वार्डको ब्यवस्था गर्न लागिएको जानकारी दिए । नगरपालिकाले माक्स नगर बासीहरूलाइ बितरण गर्ने जानकारी दिदै प्रत्येक वडा मा समेत हात धुन साबुन र सेनिटाइजरको व्यवस्था गरिएको जानकारी गराए। उनले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका थिए। त्यसै गरि नगरपालिकामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने र आवश्यक परे नगर भित्रका केहि सामुदायिक भवनहरूमा क्वारेन्ट टाइन स्थलको रूपमा ब्यवस्थापन गरिने र नगरपालिकाका स्वास्थ्य कर्मीहरुलाई बिदामा नबसी तयारी अवस्थामा राखिने पनि जानकारी गराए ।उनले कोरोना भाइरसबाट बच्न जनता आफै अनुशासित हुनु पर्ने र अनाआवश्यक भिडभाड नगर्न अनुरोध समेत गरेका थिए। उनले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य समानको कृतिम अभाब सिर्जना नहोस तथा कालोबजारी नहोस भनेर नगरपालिकाले अनुगमन गरिरहेको जानकारी गराएका थिए।
कार्यक्रममा बोल्दै बागमती प्रदेश का प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पुर्याउन, मास्क पर्याप्त प्रबन्ध गर्न, संक्रमण भित्रिएर फैलिएको खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सचेत बन्नको लागि अनुरोध गरेका थिए उनले परिणाम मुखी काम गर्नु पर्ने मा पनि जोड दिदै अनावश्यक भिड भाड हुने काम नगर्न समेत अनुरोध गरेका थिए। उनले नगरपालिकालाइ पुर्व तयारीका सबै काम तिब्र गतिमा गर्न पनि अनुरोध गरेका थिए कोरोना संक्रमणबाट पूर्वसतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न पनि नगरपालिकाको ध्यानाकर्षण गराए ।