झन्झट नहुने गरी कागजपत्र उपलब्ध गराईने नयाँ व्यवस्था
कपन अनलाइन
काठमाडौं ,फागुन २२। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाई उपत्यकाको थप ३ वटा कार्यालयहरूमा सेवा विस्तार गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेबापतको कसूरमा कारवाहीको लागि खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले संचालनमा ल्याईरहेको Traffic Violation Record System (TVRS) Softwareफाल्गुन २० गते देखि लागू हुने गरी यस महाशाखा मातहत महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त, नयां बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग, गौशालामा समेत संचालन गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार ट्राफिक कारवाहीलाई तीब्र रुपमा कार्यान्वय गरिएको कारण कारवाहीको लागि खिचिएका कागजपत्रहरु फिर्ता लिने सेवाग्राहीहरुको चाप दिनानुदिन बढदै गएकोले सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता प्राप्त गर्ने कार्यमा सहजता एवं सरलता प्रदान गर्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको बताइएको छ ।
भक्तपुर जिल्ला भित्र कारवाहीको लागि खिचिएका कागजपत्रहरु भक्तपुर,चुनदेवीस्थित ट्राफिक प्रहरी कार्यालयबाट, नयां बसपार्क एरियाका कारवाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी कायालयबाट तथा गौशाला तथा एयरपोर्ट एरियामा कारवाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी कार्यालय गौशालाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाईएको बताइएको छ ।
यो सेवा महाशाखा लगायत महाराजगञ्ज, थापाथली , कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध र कोटेश्वरपहिले देखि नै सञ्चालनमा रहेको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिनुभयो । उनले भने – “मापसे र लेन कारवाहीमा परेका कागजपत्रहरूभने महाशाखावाट सचेतना कक्षा पश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ।”
काठमाडौं उपत्यकामा दैनिक रूपमा २,५०० देखि ३,००० चालकहरु ट्राफिक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीको कारवाहीमा पर्ने गरेको बताइएको छ ।