१२ वर्षपछि महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं ,फागुन १६। पुरुष बुद्धिचाल प्रतियोगिताहरु मात्र भइरहेको बेला काठमाडौं बुद्धिचाल संघले महिला खेलाडीहरुलाई मात्र समेटेर राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
यहि फागुनको २३ देखि २५ तारिखसम्म तीन दिनसम्म हुने प्रतियोगितामा देशभरबाट १ सय भन्दा वढी महिला खेलाडीहरुको सहभागिता रहने विहिवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी गराए ।
प्रतियोगिताको नाम हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय प्रतियोगिता राखिएको छ ।  काठमाडौं जिल्ला बुद्धिचाल संघका पुर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठले आफ्नो स्वर्गिय आमा हेरामायाको सम्झनामा उक्त प्रतियोगितामा सहयोग गरेको हो ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अन्तरास्ट्रिय  महिला दिवसको दिन राखिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने– “महिला बुद्धिचाल नभइरहेकोले यसमा जिल्ला संघले पहल थालेको हो । अब हरेक वर्ष हामी अन्तरास्ट्रिय  महिला दिवसको अवसर पारेर यो प्रतियोगितालाई निरन्तरता दिनेछौं ।“
प्रतियोगिता स्विस प्रणालीका आधारमा हुनेछ । खेल सात चरणको हुने जनाइएको छ ।
प्रतियोगितामा खेलाडीहरुलाई यु १२, यु १४ र यु १६ गरी तीनवटा इभेन्टस् हुनेछन् । जसमा समग्रमा पहिलो स्थान प्राप्त गर्ने खेलाडीले २५ हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो स्थान प्राप्त गर्नेले ८ हजार , चौथो स्थान प्राप्त गर्नेले ६ हजार तथा पाँचौ स्थानका खेलाडीले ४ हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगितामा सातवटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने जनाइएको छ ।
राष्ट्रिय टोलीका खेलाडी सहित महिला खेलाडीका साथै स्कुल कलेजमा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरु समेतले  प्रतिस्पर्धा गर्ने बताइएको छ ।
सन् २००८ पछि पहिलो पटक महिला खेलाडीहरुको राष्ट्रिय प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
बुद्धिचालका नम्वर वान खेलाडी तथा हाल बुद्धिचाल संघका सदस्य तथा महिला कमिशनका प्रमुख मोनालिसा खुम्बले भनिन्( नेपालमा महिला खेलाडिहरु लक्षित प्रतियोगिता थिएन । पुरुषहरुको भीडमा मात्र खेलिरहेको थियो । तर अहिले नियमित महिलाको राष्ट्रिय प्रतियोगिता हुंदैछ । यो महिला खेलाडीको लागि ठूलो प्लेटफर्म बन्ने मलाई विश्वास छ ।
उनले यो प्रतियोगितालाई नेपाल वुद्धिचाल संघको राष्ट्रिय क्यालेन्डरमा राख्नका लागि अनुरोध गर्ने पनि बताए ।
नेपालमा हाल ५७ जना महिला खेलाडीहरुले अन्तरास्ट्रिय  रेटिङ प्राप्त गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

तपाइँको प्रतिक्रिया ।