न्हुज पुस्तकालयको आयोजनामा राष्ट्रिय कविता महोत्सव सम्पन्न
कपन अनलाइन
काठमाडौं, फागुन १२।देशव्यापी राष्ट्रिय कविता महोत्सव सम्पन्न भएको छ । न्हुज पुस्तकालय टोखाको आयोजनामा ‘बन्दैछ मेरो देश सहभागीता मेरो पनि’ भन्ने मूल नाराका साथ उक्त कविता महोत्सव भएको हो ।
काठमाडौंका राष्ट्रीय सभागृहमा आयोजना गरिएको सो महोत्सवमा प्रमुख अतिथिको रुपमा उपप्रधानमंत्री तथा रक्षामंत्री इश्वर पोखरेल रहेका थिए ।
बन्दैछ मेरो देश सहभागीता मेरो पनि भन्ने मूल नाराका साथ सम्पन्न उक्त महोत्सबमा ख्याति प्राप्त साहित्यकार गीतकार , प्रज्ञा प्रतिष्ठान प्राज्ञिक , राष्ट्रीय समाचार समितिका अध्यक्ष , टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी , उप प्रमुख ज्ञानमाया डंगोल लगायतका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
देशका बिभिन्न जिल्ला प्रदेशबाट आएका युवा कविहरूले राष्ट र राष्ट्रीय एकताको वारेमा कविता वाचन गर्नूका साथै नृत्य प्रस्तुत गरेका थिए ।
टोखा नगरपालिकास्थित न्हुज खलः ले आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम भएका छन । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा झापाका केशव भट्टराई द्वितीय र उदयपुरका जीवन आरोही तृतीय हुनाका साथै पोखराका प्रकाश आचार्य, रौतहटका मनोजकुमार विश्वकर्मा र काठमाडौँ बत्तीसपुतलीका सुनिता भेटवालले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २० हजार, तृतीयलाई रु ३० हजार र सान्त्वना पाउनेलाई रु १० हजारसहित सम्मानपत्र प्रदान गरियो । प्रतियोगितामा एक सय प्रतिस्पर्धीले भाग लिएका थिए ।
तीमध्येबाट प्रथम चरणमा ५०, द्वितीय चरणमा २५, तृतीय चरणमा १५ गर्दै चौथो चरणमा १५ जनाबाट उत्कृष्ट छ छनोट गरिएको हो ।
उक्त कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कविले कवितामार्फत राष्ट्रभक्ति भावना जागृत गरेको बताउँदै साहित्यकारका सिर्जनाले जागरण र रुपान्तरणमा मद्दत मिल्ने गरेको विचार व्यक्त गरे । “प्राकृतिक स्रोत र साधनको उपयोग गर्दै युवाहरु उत्पादन मूलक कार्यमा जोडिनुपर्छ”, उनले भने, “युवाले अब विदेशमोह त्याग्दै राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्ने बेला आएको छ । ”
उक्त प्रतियोगिता निर्णायक मण्डलका संयोजक साहित्यकार श्यामलले प्रतियोगितामा भाग लिएका ६० प्रतिशतका कविता पूर्ण रुपमा कविता बनिनसकेको बताए।