मन !
कपन अनलाइन
काठमाडौं ,फागुन ९/ प्रशुराम अधिकारी/ कविता
कसले बनायो हो यो मन ?
उकाली ओराली बेशी र फाँटहरुमा
पहाडका नाङ्गा डाँडा र मरभूमिहरुमा पनि
सँधै सुस्केरा हाल्दै हरियाली खोज्ने
देउराली, चौतारी र बस स्टपहरुमा
थोरै थकाई मार्दा पनि
हतारिँदै अगाडि बढ्ने
खै कसले बनायो होला है, यो मन ?
समाजको जालोमा अल्झिएर पनि
कति टाढा टाढा भाग्छ
कहिले बेपर्वाह सपनामा
कहिले निस्फिक्री कल्पनामा
अनायासै डुल्छ
अलिकति फुर्सद पायो की
भविष्यतिर रुमलिन्छ
बग्दा बग्दै वेगहरुसँग ठोक्किएर
अचानक स्मृतितिर फर्कन्छ
र उसै उसै बरालिरहन्छ
किन होला है वर्तमानमा नअडिएको ?
कहिले आफैभित्र चेपिएर
चट्टान जस्तै जब्बर
पुराना पुराना संस्कारसँग लुटुपुटिन्छ
कहिले नयाँ नयाँ विचारहरुसँग
बहकिएर
समाजसँगै लड्छ
र एक्लै अघि बढ्छ
निकै पुर पुग्छ र
आत्तिएर पुनः पछाडि फर्कन्छ
किन होला है अस्थिर रहने यो मन ?
कहिले दर्शन र विचारहरुको
पहिचान र रोजाईमा आत्तिन्छ
कहिले आफ्नै आदर्शमा
रमाएर मात्तिन्छ
किन होला अप्ठ्यारोसित पनि
हासिरहने यो मन ?
किन होला सजिलोमा
सुन्दरता र हरियालीमा पनि
कहिले रसाइदिने यो मन ?
खै केले बनाको होला यो मन ?
विचारले कि व्यवहारले ?
शरिरले कि चेतनाले ?
मान्छेले कि समाजले ?
……………………..
र
खै कसले बनायो होला यो मन ?
कपन, काठमाडौं