दोस्रो टोखा महोत्सवको तयारी तिब्र
कपन अनलाइन
भक्तपुर, फागुन ६ । ३ दिने ‘दोस्रो टोखा महोत्सव’ को तयारीमा टोखा नगरपालिका जुटेको छ ।
धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक नगरी टोखामा आगामी फागुन २३ गतेदेखि सुरु हुन लागेको महोत्सवका लागि आज महोत्सव सचिवालयको बैठक बसेको छ । टोखा २ मा बसेको सचिवालयको बैठकमा महोत्सव तयारीका लागि गठित २४ वटा उपसमितिहरुको काम प्रगतिका बारेमा छलफल भएको छ ।
आजको बैठकले महोत्सव सचिवालयको कार्यालय समेत स्थापना भएको छ । बैठकमा सहभागी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले महोत्सव तयारी उपसमितिलाई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशन दिएका छन ।
बैठकमा साँस्कृतिक संरक्षित क्षेत्रमा हुने यो महोत्सव सिंगो टोखा नगरपालिकाको संस्कृति, धार्मिक सम्पदाहरुलाई पहिचान गराउने अवसरको रुपमा लिइ आगाडि बढ्नु पर्ने सहभागिहरुले सुझाव दिएका थिए ।
३ दिने महोत्सव नेवाःगुथि टोखाको व्यवस्थापनमा हुन लागेको हो । टोखा नगरपालिकामा रहेका साँस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ लाई सफल पार्ने उद्देश्य राखी महोत्सवको आयोजना हुन लागेको नगरपालिकाले जनाएको छ ।
सांस्कृतिक झाँकी, व्यापारिक स्टल, नेवारी खाना, नयाँ आविष्कार तथा शैक्षिक प्रदर्शनी, महोत्सवका आकर्षण हुन ।
१० लाख पर्यटकलाई यस महोत्सवमा सहभागी गराउने लक्ष्य नगरपालिकाको छ ।