आफ्ना-आफ्नै साँझ !

आफ्ना-आफ्नै साँझ !

कपन  अनलाइन 

काठमाडौं, फागुन ६  / नवराज न्यौपाने’मौन ‘
दिनभरिको अबोध बालक्रीडापछि
मायावी स्पर्श बोकेर
कलिला नानीहरुको आँखामा
मीठो निद बनेर आउँछ
एउटा सुन्दर साँझ ।
झ्याउँकिरीको कोकोहोलो सुन्दै
चराहरु बास बसेको बेला
धिपधिपे बत्ती अघिल्तिर
परिकार पाक्दै गरेको बेला
परदेशिएका आफन्तको सम्झना बनेर
आँखाका डिलमा टल्पलाउछ
र गलामा सुक्सुकाउछ
एउटा विरही साँझ ।
जून रोजेर तिमी
सिर्जना फुलाउछौ कि
प्याला रोजेर तिमी
अकारण जिन्दगी जलाउछौ ?
यही प्रश्नसूचक भाव बोकेर
मेरो अघिल्तिर उभिन्छ
म जस्तै नितान्त एक्लो
एउटा निरीह साँझ

तपाइँको प्रतिक्रिया ।