उपप्रधानमन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्रको भ्रमण गर्ने

उपप्रधानमन्त्री  ईश्वर पोखरेलले कालापानी क्षेत्रको भ्रमण गर्ने

कपन अनलाइन

काठमाडौं, फागुन ४।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जाने बताइएको छ ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागिता हुनेछन् ।

उनले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरिन लागेको हो । नेपाली सेनाको उच्च अधिकारीले भने समयसमयमा व्यारेकको निरीक्षण गर्दै आएका छन् । काठमाडौँबाट आज बिहान उड्ने सेनाको हेलिकप्टर दिपायलस्थित नेपाली सेनाको पृतना हेडक्वाटर भएर दार्चुला आउनेछ ।

भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ ।

उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए । तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला पुगेका थिए ।

आइतबार व्यारेक निरीक्षण र दार्चुला महोत्सवको उद्घाटन गरेपछि बेलुकी दार्चुलामै बस्ने कार्यक्रम छ । आइतबार अपराह्न ४ बजे कार्यालय प्रमुखसँग उपप्रधानमन्त्री पोखरेलको छलफल कार्यक्रम हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

यसैगरी उनले जिल्लास्थित कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले जानकारी दिए । दार्चुला विकास सङ्गठनस्थित हलमा कार्यकर्ता भेटघाटका लागि समय मिलाइएको छ ।

त्यसपछि हेलिकप्टरमार्फत उपप्रधान तथा रक्षामन्त्री पोखरेल व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत छ । सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो ।

दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य सुरु भएको छ । अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ । महोत्सवको अवसर पारेर उनले नेपाली सेनाको व्यारेक र कालापानी क्षेत्रमा हेलिकप्टरमार्फत अवलोकन गर्ने भएका छन् ।

जिल्लाको भ्रमणको क्रममा दार्चुला तिङ्कर सडकलाई नेपाली सेनामार्फत बनाउन पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।