काठमाडौँ महानगरको ४१ औं कार्यपालिका बैठक सम्पन्न
कपन अनलाइन
काठमाडौँ, फागुन २। महानगरबाट वितरण हुने अनुदान रकम व्यवस्थापन सम्बन्धि निर्देशिकालाई संशोधनसहित स्वीकृत गर्दै काठमाडौंं महानगरको ४१ औं कार्यपालिका बैठक सम्पन्न भएको छ ।
बिहीबार महानगरको सभा कक्षमा प्रमुख तथा कार्यपालिकाका अध्यक्ष बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठकमा बिधायन समितिकातर्फबाट प्रशासन बिभागका प्रमुख नमराज ढकालले निर्देशिका पेश गरेका थिए । पेश भएको निर्देशिकामाथि दफावार छलफल गरेपछि त्यसमा कार्यपालिका सदस्यबाट प्राप्त भएको सुझाव थप गर्ने गरी निर्देशिका स्वीकृत गरिएको अध्यक्ष शाक्यले जानकारी दिए ।
निर्देशिकामा ‘संघ वा प्रदेश सरकारबाट प्राप्त भएको अनुदान’, महानगरको आफ्नै श्रोतबाट वितरण हुने ‘अनुदान सहयोग’ र ‘कार्यक्रम सहयोग’ गरी ३ प्रकारका अनुदानको व्यवस्था गरिएको छ । यसअनुसार संघ वा प्रदेश सरकारबाट प्राप्त अनुदान बितरण सम्बन्धि बिधि र मापदण्ड पहिलो प्रकारमा राखिएको छ ।
निर्देशिकाअनुसार महानगरको आन्तरिक श्रोतबाट बितरण हुने अनुदानमध्ये पूर्वाधार विकासका लागि ‘अनुदान सहयोग’ शीर्षकमा वितरण हुनेछ भने क्षमता विकास, सामाजिक तथा परम्परागत गतिबिधि सञ्चालनका लागि दिइने अनुदान रकम ‘कार्यक्रम अनुदान’ शीर्षकबाट वितरण हुनेछ । निर्देशिकामा अनुदान लिने सरकारी निकाय तथा गैरसरकारी संघ संस्था र समुदायले अनुदान लिन पूरा गर्नु पर्ने प्रक्रिया, अनुदानबाट गरिने कामको प्रगति प्रतिवेदन, सामाजिक परीक्षणको व्यवस्थालगायतका प्रवन्ध गरिएको छ ।
त्यस्तै अनुदानका सीमा र क्षेत्रको व्यवस्था पनि गरिएको छ । संरक्षण, पर्यटन, आयमुलक, रोजगारीमुलक, बिपद्, वातावरणीय सुधार, बाल अधिकार, बाल शिक्षा, सूचना तथा जागरण, खेलकुदलगायतका क्षेत्रलाई अनुदान दिइने क्षेत्रका रुपमा समेटिएका छन् । बिपन्नता अनुदानलाई ‘असहाय अनुदान’ र ‘बिपद्मा परेकालाई दिइने अनुदान’ गरी २ प्रकारमा बाँडिएको छ । निर्देशिकाले ‘उपचार सहायता’को पनि व्यवस्था गरेको छ । निर्देशिकामा अनुदान लिनेले बुझाउनु पर्ने कागजात र कार्यक्रम सञ्चालन गर्दा अपनाउनु पर्ने बिधि तथा कार्यक्रम सकिएपछि पेश गर्नु पर्ने प्रगति तथा प्रगति परीक्षणका बिधिहरु उल्लेख छन् । त्यस्तै कागजातका सूची तथा सम्झौताका ढाँचालाई अनुसूचीमा समेटिएको छ ।
बैठकले महानगरमा कार्यरत १०६ जना करारका कर्मचारीको ६ महिना म्याद थप गरेको छ । यसै गरी वडा नं. ६ मा निर्माण भएको राधाकृष्ण मन्दिरको नक्सा पास दस्तुर छुट दिने निर्णय गरेको छ ।
कार्यकाल बाँकी रहँदै हृदयाघातका कारण मृत्यु भएका वडा ८ का तत्कालीन सचिव ओमप्रकाश पौडेलले सेवा अवधि थप गरेर परिवारलाई निवृत्तिभरण उपलब्ध गराउनेलगायतका निर्णय गर्दै कार्यपालिका बैठक सकिएको थियो ।
फोटो सौजन्य : काठमाडौँ अनलाइन