तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको च्याम्पियन आदर्श र ममता

तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको च्याम्पियन आदर्श र ममता

कपन अनलाइन 

काठमाडौं ,माघ २६ । भारतका आदर्श ओम क्षेत्री र भारतकै ममता प्रभु तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ शनिबार च्याम्पियन बनेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा आदर्शले नेपाल प्रहरीका श्यान्टु श्रेष्ठलाई ९–११, ११–८, १४–१२, ११–८, ६–११, ७–११ र ११–७ को सेटमा पराजित गरे । एपीएफका अमरलाल मल्ल र काठमाडौंका चन्दन शाही तेश्रो भए ।
ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा ममताले प्रहरीकै नविता श्रेष्ठलाई ११–४, ११–२, ११–५ र ११–७ को सोझो सेटमा हराइन् । नेपाल आर्मीकी रविना महर्जन र प्रहरीकी एलिना महर्जन तेश्रो स्थानमा रहे ।
दुवै सिंगल्समा पहिलो हुनेले ६० हजार, दोश्रोले ३० हजार र तेश्रो हुने दुई खेलाडीले समान १०–१० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । माघ १८ गतेदेखि सुरु १६ स्पर्धा समावेश प्रतियोगितामा ६ सय २५ खेलाडी सहभागी थिए ।
विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, आयोजक क्लबका अध्यक्ष समेत रहेका मुख्य प्रायोजक सम्झना क्लिनिकका उर्दिप जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा विगत ४७ वर्षदेखि टेबलटेनिसमा सक्रिय अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यलाई ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मान गरिएको थियो । वज्राचार्य खेलाडीका रुपमा सागमा सर्वाधिक पदक जित्ने पुरुष टेबलटेनिस खेलाडी हुन् । उनले विभिन्न संस्करणको सागमा १ रजत र ४ कांस्य जितेका छन् । त्यसै अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता टेबलटेनिस खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।