दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता सुरु

दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता सुरु

कपन अनलाइन

विराटनगर, माघ २०। दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि विराटनगरमा सुरु भएको छ ।
नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् ।
सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले प्रदेश १ लाई ८–० गोलअन्तरमा पराजित गरेको हो । आर्मीका दीपेन्द्र ऐरले ३ र ४२ औं  मिनेटमा गोल गरेभने २० औं मिनेटमा शेरबहादुर रोकायाले गोल थपे । २७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरे । ३६ र ३७ औं मिनेटमा रोमन राणाले गोल गरेभने ५७ र ५९ औं मिनेटमा प्रदीप राजवंशी गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका प्रदीप राजवंशी भए ।
त्यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई १–० गोलले पराजित गरेको छ । खेलको ३९ औं मिनेटमा गण्डकीका पिताम्बर थापाले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच गण्डकीका किशनबहादुर मगर भए ।
त्यसैगरी, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशले बराबरी १–१ गोल गर्दै अंक बाँडेका छन् । ४९ औं मिनेटमा बाग्मतीका विनजन घिमिरे र ५९ औं मिनेटमा सुदूरपश्चिमका अंकित महरले गोल गर्दै खेललाई बराबरी पारेका थिए । खेलको म्यान अफ द सुदूरपश्चिमका केशवराज जोशी भए ।
प्रतियोगिताको उद्घाटन नेपाल हक्की संघका केन्द्रीय अध्यक्ष उमेशलाल श्रेष्ठले गरेका थिए । प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् ।

तपाइँको प्रतिक्रिया ।