‘दोस्रो टोखा महोत्सव’ हुने

 ‘दोस्रो टोखा महोत्सव’ हुने

कपन अनलाइन 

काठमाडौं ,माघ १९  । टोखा नगरपालिकाले ‘दोस्रो टोखा महोत्सव’ गर्ने भएको छ ।टोखा नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सवको तयारीका लागि शनिवार नगरपालिकाको आयोजनामा वृहत नगरस्तरी प्रारम्भिक बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म दोस्रो टोखा महोत्सव हुने निर्णय गरिएको हो ।

बैठकले नेवाःगुथि तोखाको व्यवस्थापनमा महोत्सव गर्ने समेत निर्णय गरिएको थियो । प्रथम टोखा महोत्सव नेवाः गुथि तोखाको आयोजनामा गत २०७० फागुन १७-१८ गते सम्पन्न भएको थियो ।

महोत्सव तयारीका लागि बसेको बैठकबाट नगर प्रमुखको संयोजकत्वमा ५०१ सदसीयको महोत्सव मूल आयोजक समारोह समिति गठन गर्ने निर्णय गरिएको थियो। जसमा नगरप्रमुख – संयोजक, उपप्रमुख -उपसंयोजक, सबै ११ वटै वडाका अध्यक्ष, नगर परिषद सदस्यहरु, नगरपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि रहनेछन् । त्यस्तै टोखा नगरपालिकामा क्रियाशील संघसंस्था, शिक्षा, स्वास्थ्य, पर्यटन, साहित्य, खेलकुड तथा सांस्कृतिक क्षेत्रसँग सम्बद्ध प्रतिनिधीहरु रहनेछन् ।

टोखा नगरपालिकामा रहेका साँस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ लाई सफल पार्नु महोत्सवको उद्देश्य रहने नगर प्रमुख प्रकाश अधिकारीले बैठकमा जानकारी गराएका थिए ।

टोखा नगरपालिका भित्रका सबै समुदाय, वर्ग तथा क्षेत्रलाई समेतेर महोत्सव सम्पन्न गर्ने नगर प्रमुख अधिकारीले बैठकमा बताए । उनले महोत्सवको तयारिका लागि कम समय रहेकाले युद्धस्तरमा महोत्सवको तयारिमा लाग्न सबैमा आग्रहसमेत गरेका थिए ।

आफ्नो वडामा हुन लागेको महोत्सवलाई भव्यरुपमा सफल बनाउन आफुहरु जुनसुकै जिम्मेवारी वहन गर्न तयार रहेको २ र ३ वडाका अध्यक्ष द्वय दिपकराज जोशी र सिंहराज श्रेष्ठले बैठकमा बताए ।

नेवाः गुथि तोखाका अध्यक्ष देवाराज डंगोलले सबैको साथ र सहयोग रहेमा महोत्सव भव्य र सभ्यरुपमा सम्पन्न हुने भन्दै सबैले आआफ्नो तर्फबाट जिम्मेवारी बहन गर्न आग्रह समेत गरेका थिए ।

साँस्कृतिक संरक्षित क्षेत्रमा हुने यो महोत्सव सिंगो टोखा नगरपालिकाको संस्कृति, धार्मिक सम्पदाहरु लाई पहिचान गराउने अवसरको रुपमा लिइ आगाडि बढ्नु पर्ने सहभागिहरुले सुझाव दिएका थिए । आर्थिक पार्दशिकता, समावेशिमुलक सहभागिता तथा नगरपालिकाको भौतिक पुर्वाधार संरचनाहरु तत्काल व्यवस्थापन तर्फ ध्यानदिन समेत सहभागिहरुले सुझाव दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।