नेतृत्व बिहिन बुढानिलकण्ठ क्षेत्र विकास समिति र समस्याका डङ्गुर

नेतृत्व बिहिन बुढानिलकण्ठ क्षेत्र विकास समिति र समस्याका डङ्गुर

कपन अनलाइन 

काठमाडौं ,माघ १८ ।

बुढानिलकण्ठ र टोखा नगरपालिकाका धार्मिक सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्नका लागि गठित बुढानिलकण्ठ क्षेत्र विकास समिति अहिले नेतृत्व बिहीन बनेको छ।

साविक टोखा चंडेश्वरी,टोखा सरस्वती ,खड्का भद्रकाली ,चपली भद्रकाली ,चुनिखेल र बिष्णु बुढानिलकण्ठ गाविसका महत्वपूर्ण धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्ने गरि नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समिति गठन गरेको थियो ।

पछिल्लो पटक गठन भएको समितिको म्याद समाप्त भएको लामो समय वितिसक्दा पनि समिति गठन नहुदा उक्त क्षेत्रमा गर्नु पर्ने महत्वपूर्ण कामहरुमा अवरोध सिर्जना भएको छ ।

यस भन्दा अगाडी पनि सो मन्दिर सम्बद्ध पुजा व्यवस्थापन समिति , मन्दिर व्यवस्थापन समिति महन्त र क्षेत्र विकास समिति विचमा क्षेत्राधिकार र अन्य विषयमा विवाद सृजना हुदै आएकोमा गुठि संस्थानले गठन गरेको मन्दिर व्यवस्थापन समिति खारेज भैसकेको छ ।

नगरपालिकाको नामकरण भएको बुढानिलकण्ठ मन्दिर ,टोखा चंडेश्वरी मन्दिर,खड्का ,चपली ,नौलिक भन्द्रकाली मन्दिर लगायतको विस्तार तथा संरक्षणको  योजना तथा विकासको काममा अहिले रोकावट आएको छ भने  संघीय सांसद,प्रदेस सभा सदस्य , टोखा र बुढानिलकण्ठ नगरपालिकाले ति क्षेत्रहरुको विकासमा ठोस र बृहत योजनाहरु निर्माण गर्न कठिनाइ भोगिरहेका छन ।

ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै काठमाडौं उपत्यकाको उत्तरी पर्वत शृंखलामा जसलाई विभिन्न धार्मिक ग्रन्थ तथा दस्तावेजहरुमा शिव लोक भनेर उल्लेख गरिएको छ त्यसको धार्मिक उन्नयन गरि प्रवर्धन गर्ने नेतृत्वदायी संस्था नै लामो समय सम्म रिक्त रहदा यसले सकारात्मक सन्देस नगएको  समितिका एक पुर्व पदाधिकारी बताउछन।

संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सो मन्दिर व्यवस्थापन तथा अन्य पूर्वाधार विकासको लागि स्थानीय तहको प्रभावकारी परिचालनका लागि बुढानिलकण्ठ नगरपालिकालाई पत्र लेखेको र त्यस पश्चात सो क्षेत्र विकास समितिको बृहत विकास र निर्माणका लागि नगरपालिकाले बागमती प्रदेस सरकारलाई पत्र लेखेर ठोस योजनाका लागि पहल गर्न आग्रह गरिएको श्रोतले जानकारी दिएको छ।

अहिले यस विषयमा प्रदेस सरकारमा नीति नबनेको  कारण रोकिएको र नीति बन्न साथ यस क्षेत्रको प्रभावकारी ब्यवास्थापनको योजना सहित समिति गठनको तयारी रहेको प्रदेस सरकार श्रोतले जानकारी दिएको छ ।

यसै विच यस क्षेत्रको समस्या लिएर स्वयं नगरपालिकाका कार्यपालिका सदस्य तथा पूर्वाधार विकास समितिका प्रमुख नै आफ्ना प्रमुखलाई ध्यानाकर्षण गर्न नगरपालिकाको कार्यालय गएपछी त्यहाको समस्याको डङ्गुर कति थुप्रिएको रहेछ भन्ने जिज्ञाशा सर्वत्र उठेको छ।

साथै ति समस्याका वारेमा गम्भीर जिम्मेवारीबोध सहित बृहत बहसको आवस्यकता बोध पनि यसले गराएको छ ।

क्षेत्र विकास समितिका प्रमुख चुनौती ?

१. जग्गा व्यवस्थापन तथा स्थानान्तरण 

बुढानिलकण्ठ क्षेत्र विकास समितिका अगाडी धेरै सम्भावना रहेका छन भने त्यतिकै जटिल र गम्भीर खालका चुनौतीपनि रहेका छन ।

यस क्षेत्र विकास समितिको सबै भन्दा प्रमुख र लामो समय देखि ऐजेरु झैँ जरा गाडेर बसेको चुनौती भनेको त्यस क्षेत्रका वासिन्दाहरुको जग्गा र वसोवास व्यवस्थापन हो । २०४२ शाल देखि त्यहाका केहि घरहरूले जग्गा स्थानतरण भनेर मुवाब्जा बुझेका छन भने कहिले अझै सम्म बुझेका छैनन् । मुवाब्जा बुझ्ने र नबुझ्ने दुवै स्थानीयहरु दशकौ सम्म अनिर्णयको बन्दि बनेर अनिश्चितताको भुमरीमा पिस्लिन बाध्य बनेका छन ।

विभिन्न समयमा बनेका समितिहरुले आफ्नो प्रमुख प्राथमिकतामा त्यहाको जग्गा व्यवस्थापन र मन्दिर क्षेत्र विस्तारको योजना उठाए पनि याको ठोस समाधान गर्न भने अशक्षम बनेको देखिन्छ ।

धेरै स्थानीय राजनीतिक दलका नेता ,सामाजसेवी तथा सो क्षेत्र बुझेका व्यक्तित्व हरुले वारम्वार नेतृत्व गर्ने अवसर पाए पनि मूल समस्या समाधानमा खासै प्रगति हुन् नसकेको उक्त क्षेत्र विकास समिति अन्तर्गतका जनाले विनाशकारी भूकम्प पश्चात झन् धेरै समस्या भोगेका छन जसको उचित व्यवस्थापन समितिले गर्न सकेको छैन।

मन्दिर क्षेत्रको विस्तार नगरी उक्त क्षेत्रको बृहत विकास गर्ने सम्भावना कम रहेको विषय उठे संगै यसका लागि पहल भने नभएका हैनन् तर आन्तरिक फरक बुझाई ,राजनीतिक लाभ हानि तथा व्यक्तिगत जुँगाको लडाईले गर्दा कुनै देखिने किसिमको प्रगति हुन् सकेको छैन ।

यस क्षेत्रको जग्गा विवाद समाधानका लागि काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका उप प्रधानमन्त्री ईश्वर पोखरेलले खुल्ला कार्यक्रमममा नै जग्गा स्थानतरणको कुरा उठाउदै त्यसको पहल गर्ने बताएका छन भने त्यसका लागि काठमाडौं क्षेत्र नं ५ प्रदेस ख का सदस्य दिपक निरौलाले क्षेत्र विकास समितिका पुर्व पदाधिकारी तथा सदस्य र अन्य सरोकारवाला संग पटक पटक छलफल गरिसकेका छन ।

त्यस्तै प्रदेस सभा सदस्यले आयोजना गरेको छलफलमा नेपाली कांग्रेस काठमाडौं -४ का सभापति तथा समितिका पुर्व सदस्य सचिव राजु श्रेष्ठले आफुले स्थानीयको स्थानान्तरणका लागिपहल गरेको तर बजेट अभावमा ठुलो समस्या समाधान गर्न बाट चुकेको गुनासो गरेका थिए ।

यस पश्चात सो क्षेत्रको जग्गा व्यवस्थापन र मन्दिर क्षेत्र विस्तारको बहस निकै अगाडी बढे पश्चात बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बाल कृष्ण श्रेष्ठको संयोजनमा काठमाडौं -४ प्रदेस ख का सदस्य कुसुम कुमार कार्कीको उपस्थितिमा भएको एक भेलाले स्थानीयको समस्या नहेरी केवल ल्याण्ड पुल्लिंगको विषय मात्र अगाडी बढाउन नहुने निस्कर्ष निकाले पछी यसले खास गति लिन सकेन।

यस विचमा यस विषयलाई कतिले आफो प्रतिष्ठाको विषय बनाए भने कतिले यसलाई आफ्नो अस्तित्व देखाउने अवसर तर समस्या भने झन् झन् जटिल बन्दै गायो र अझै यसको उपचार खोजिएन भने यो ठुलो रोग बन्ने निश्चित रहेको समितिका एक पुर्व सदस्य बताउछन ।

बुढानिलकण्ठ मन्दिर क्षेत्रको विस्तार गरी यसलाई युनेस्को विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने पहल निकै पहिला देखि भएको सन्दर्भमा यसको लागि सबैले पहल गर्नुपर्नेमा गहन बहस हुनुपर्नेमा अहिले यस विषयलाई सिमित व्यक्ति र समुह भन्दा पनि सार्वजनिक बहसको विषय बनाउनु पर्ने देखिन्छ।

२.फरक समिति विविध समस्या 

बुढानिलकण्ठ मन्दिर क्षेत्रको उचित र प्रभावकारी व्यवस्थापन हुन् नसक्नुमा त्यहा रहेका विभिन्न समिति र मूल भट्ट विच वेला वेलामा देखिने क्षेत्राधिकार र कार्य सम्पादन विवाद पनि एक प्रमुख कारण रहेको छ ।

नेपाल सरकार द्वारा गठन गरिएको क्षेत्र विकास समिति ,गुठि संस्थान द्वारा गठन गरिएको मन्दिर व्यवस्थापन समिति र त्यहाका मूल भट्ट विच समन्वय र हार्दिक सहकार्य नहुदा वेला वेलामा विवादको चक्करमा मन्दिर फस्दै आएको छ । धीरे भान्से हुदा तरकारी बीग्रंछ भने झैँ धेरै समिति र तिनका पदाधीकारी विचको निरर्थक संघर्षका कारण तमाम समस्या सिर्जना भएको स्थानीयहरु बताउछन ।

बुढानिलकण्ठ मन्दिर सहित अन्य सम्पदाको प्रवर्धन गर्ने मुख्य जिम्मेवारी पाएको क्षेत्र विकास समितिले उचित अभिभावकत्व ग्रहण गर्ने आट नदेखाउनु र त्यहा रहेको मन्दिर व्यवस्थापन समितिले आफुलाई क्षेत्र विकास भन्दा ठुलो ठान्नु समस्याको मूल कडी भएको ति स्थानीयको बुझाई रहेको छ ।

३.परिणाममुखी र आटिलो नेतृत्वको कमि 

बुढानिलकण्ठ क्षेत्र विकास समितिमा आउने जुन सुकै नेतृत्व पनि माथि उल्लेख गरिएका समस्या संग साक्षात्कार नहुने प्रश्न नै रहदैन तर पनि ति समस्या समधानका लागि ठोस ,देखिने र परिणाम निस्कने किसिमका पहल भने एकाद बाहेक भएका देखिदैनन।

यसका लागि किन त्यहाको नेतृत्व गर्ने समिति र व्यक्तिहरुले परिणाममुखी पहल गरेनन वा सकेनन यसका वारेमा निकै गम्भीरता पुर्वक सोच्ने वेला आएको एक जनप्रतिनिधि बताउछन ।

नगरपालिकाको नाम संग जोडिएको र नगरको पर्यटन प्रवर्धनको मेरुदण्डका रुपमा रहेको क्षेत्र विकास समितिमा आउने नेतृत्वले कतै कुलदेवी वा देवताको पुजा अर्चना गर्ने प्रमुख झैँ कमजोर बुझाई राखेर यो समस्या अहिले सम्म थाती रहेको त् हैन ? ति जनप्रतिनिधिको प्रश्न थियो ।

नेपाल सरकार द्वारा गठन हुने बौद्ध नाथ क्षेत्र विकास समिति ,पशुपति क्षेत्र विकास कोष जस्तै क्षेत्राधिकार र अधिकार प्राप्त समितिले यस क्षेत्रको विकासका लागि धेरै काम गर्न सक्ने अवस्था रहेको छ । त्यति मात्र हैन संघीय सरकार ,प्रदेस सरकार र स्थानीय सरकारको चासोको केन्द्रमा रहेको बुढानिलकण्ठ क्षेत्र विकास समितिको गठन गर्दा अवका दिनमा स्पस्ट कार्ययोजना सहित आउने उचित व्यक्तिलाई नेतृत्व दिनुपर्ने देखिन्छ ।

यसका लागि संघीय र प्रदेस सरकारको अनुमतिमा नगरपालिकाले खुल्ला रुपमा योजना सहितको प्रस्तावना मागेर त्यसमा गम्भीरता पुर्वक अध्ययन गरेर नेतृत्व चयन गर्दा यसले दायित्वबोध र नैतिक दवाव सिर्जना गर्ने देखिन्छ भने अहिले सम्म चलेको चलन भन्दै कुनै व्यक्तिको राजनीतिक पहुच ,व्यक्तित्व विकास वा व्यक्ति व्यवस्थापनका नाममा समिति गठन गरिदा ठोस प्रगति निस्कने देखिदैन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।