गोकर्णेश्वर नगरपालिकामा उपभोक्ता समितिका पदाधिकारीहरु र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा उपभोक्ता समितिका पदाधिकारीहरु र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं,माघ१५।गोकर्णेश्वर नगरपालिकामा उपभोक्ता समितिका पदाधिकारी र जनप्रतिनिधिहरुलाई  अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।गोकर्णेश्वर नगरपालिकाले उपभोक्ता समितिको गठन, परिचालन तथा काम ,कर्तव्य र अधिकार सम्बन्धि उपभोक्ता समितिका पदाधिकारी तथा जनप्रतिनिधिहरु संग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।  गोकर्णेश्वर नगरपालिका स्थित सुनगाभा ब्यांकेट गोकर्णमा सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं ३,४ ९ का उपभोक्ता समितिका पदाधिकारी र जनप्रतिनिधिलाइ सो अभिमुखीकरण गरिएको हो । गोकर्णेश्वर नगरपालिका  मा गुणस्तरीय पूर्वाधार निर्माणको लागि  सो कार्यक्रम आयोजना गरिएको हो।  अन्य वडामा पनि सो कार्यक्रम भइरहेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न गर्न लागेको पूर्वाधार विकासका योजना कार्यान्वयनका लागि वडास्तरमा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनमा अपनाउनु पर्ने आवश्यक ज्ञान सीपवारे जानकारी दिन पनि सो अभिमुखीकरण कार्यक्रम फलदायी हुने बिश्वास नगरपालिकाले लिएको छ । सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी ,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा सदस्यहरु र उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 विगतमा कतिपय उपभोक्ता समितिका पदाधिकारीले अञ्जानवश विकास निर्माणका कार्यमा गुणस्तरीयता कायम गर्न नसकेको पाईएकोले यो वर्ष सजकता अपनाईएको नगरपालिकाको भनाइ रहेको छ । नगरपालिकाको सबै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई उपभोक्ता समितिको काम, कर्तब्य र उत्तरदायित्व सँग–सँगै योजनाको काम शुरुवातदेखि फछ्र्यौटसम्मको प्रक्रियाका वारेमा समेत जानकारी गराईएको थियो ।

 कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका   प्रशासन अधिकृत  भिम बहादुर शाही र नगरपालिकाका अधिकृत भुपेन्द्र बोहराले अभिमुखीकरणमा सहजीकरण  गरेका थिए। उनीहरुले उपभोक्ता समिति गठन, समितिका सदस्यको योग्यता, समितिको काम, कर्तव्य र अधिकार, आयोजना कार्यान्वयन, आयोजना सम्झौताका लागि आवश्यक कागजात, समितिको क्षमता विकास, खाता सञ्चालन र भुक्तानी प्रक्रिया, अनुगमन सम्बन्धी व्यवस्था, समितिको दायित्व जस्ता विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले शुभकामना मन्तब्य राख्दै विकास निर्माणका काम गर्दा विनियोजित बजेट र कार्यक्रम अनुसार कुनैपनि भेदभाव र अनियमितता नगर्न अनुरोध गरेका थिए । उनीहरुले विकासका काम कहि कतै अनियमितता भएको थाहा पाउन साथ तत्काल कारवाही गर्न आफूहरु  बाध्य हुने उनीहरुको भनाई  रहेको थियो ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले योजना कार्यान्वयनको जिम्मा र लाभ लिने पनि स्थानीय बासिन्दा भएकोले निर्माणमा स्थानीयले जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए ।  कार्यक्रममा सहभागीहरुले सोधेका जिज्ञासाको उत्तर समेत दिइएको थियो ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।