मुक्तक !

मुक्तक !

कपन अनलाइन

काठमाडौं, माघ १०/ धर्मानन्द भट्ट

बाँझा छन् गाउँका खेत युवा सबै विदेशिँदा
उतैको रसमा डुब्दै घर कोही नफर्किँदा ।
घरको काममा लाज मान्ने बानी हुँदा अझ
उतैका रुपियाँलाई महत्व सहजै दिँदा ।।

धर्मीले धर्मको लागि चौरासी धाम धाउँछ
शङ्ख घण्टा बजाएर मङ्गल धुन गाउँछ ।
भित्री आत्मा खुसी राखी चोखोभोको बसीकन
माला रुद्राक्षका साथ टीका चन्दन लाउँछ ।।

पापीले पापको लागि अबोध जीव मार्दछ
वृक्षमा फूल लागेमा झटारो हान्छ झार्दछ ।
नझरे असिनाजस्तै बन्छ, बर्सिन्छ बेसरी
सबै छाला निकालेर शुष्क जीवन पार्दछ ।।

अमेरिका पुगी खाने उही दाल र भात हो
निम्तोमा धाउँदा पार्टी भिर्ने पाइन्ट सर्ट हो ।
मरेपछि निशङ्कोच छोडेर धन दौलत
लाएका कपडा खोली पोलिने अग्निमा न हो ।।

मान्छेले नहुँदा मान्छे अत्याचार बढ्यो अति
दिदी र बहिनीमाथि हत्याहिँसा बढे कति !
दस वर्षे भई युद्ध राणा, राजा हटे तर
सबैतिर भने जस्तो लिएन देशले गति ।।

रोशनी महरा काण्ड हैजाझैँ फैलियो घर
निरोगी रोगले ग्रस्त होलान् भन्ने भयो डर
बसौँ बचेर जो कोही सान घट्छ थला परे
रोगीका साथमा बस्दा नसर्ने रोग के छ र !

जसले देशको लागि गर्दछ ज्यान अर्पण
देशले त्यसको लागि सोचेको हुन्छ हर्दम ।
जनता देशको नाता अटुट होस् सधैँभरि
दुवैको मित्रताबाट होउन् लाग्छ दुवै खुस ।।

वातावरण जोगाऔँ बोकेर मन चेतन
नजोगाए सधैँ पर्छ सङ्कट जीव जीवन ।
ओजोनतहको रक्षा गर्नलाई सबै उठोैँ
बोकेर विश्वको चिन्ता कर्तव्यवान् बनीकन ।।

टीका र जमरा लाई ल्याउँछु मनमा खुसी
अनि गर्छु नयाँ काम ल्याउन घरमा खुसी ।
नव रात्रि नवै दुर्गा पुजेमा दशमी दिन
नव दुर्गा भवानीले दिने छ सबमा खुसी ।।

लाएर जमरा, टीका खाइन्छ दुधभात र
खेलिन्छ पिङ मच्चेर कुनै सुनिन्न कर्कर ।
भुलिन्छ दुस्ख हाँसिन्छ खोजिन्छ मार्ग भोलिको
आँधीहुरी सबै खेप्ने भरिन्छ जोस जाँगर ।।

टीका छैन निधारमा र जमरा छैनन् कुनै कानमा
जाँदा स्वर्ग ठुलो बुबा घर सबै सन्तप्त भै शोकमा ।
मैले भन्दछु हर्षले हजुरको आत्मा खुसी होस् सधैँ
चिन्ता छैन कदापि आज नमिले मिल्ला नयाँ वर्षमा ।।

काँडेतार लगाइए मुलुकका सीमाहरूमा अब
किच्दैनन् पद स्वार्थका नजरले बिस्तारवादी तब ।
फुल्छन् फूल स्वतन्त्र भै सय थरी खेल्छन् बयेली पनि
हाँस्छन् खित्खित शान्तिको धुन झिकी नेपालबासी सब ।।

हाँसी बाँच्नु छ जिन्दगीभर बुझी हाँस्ने गरेको छु म
नाची बाँच्नु छ जिन्दगीभर बुझी नाच्ने गरेको छु म ।
रोई लक्ष्य चुमिन्न हिम्मतसँगै सङ्घर्ष गर्दै गए
मोती टिप्न सकिन्छ एक छिनमै मान्ने गरेको छु म ।।

तपाइँको प्रतिक्रिया ।