वर्तमान सरकार जनवादी सत्ता स्थापनामा केन्द्रित : प्रदीप पौडेल

वर्तमान सरकार जनवादी सत्ता स्थापनामा केन्द्रित : प्रदीप पौडेल

कपन अनलाइन

ललितपुर,पुस २७  ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा नेतृत्वको वर्तमान सरकार जनवादी सत्ता स्थापनामा केन्द्रित हुँदै गएको आरोप लगाएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको “बृहत् शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी भूमिका” विषयक कार्यक्रममा पौडेलले सरकारमा जनवादी सत्ताको सोच हावी भएको बताए । “लोकतान्त्रिक गणतन्त्रको न्यूनतम मापदण्ड समेत सरकारले पालना नगर्दा समग्र शान्ति प्रक्रिया जोखिममा पर्ने खतरा बढेको छ” पौडेलले भने । गिरिजाप्रसाद कोइरालाको संगतका कारण लोकतान्त्रिक शक्ति बनेका कम्युनिष्ट पार्टीहरु नै अहिले लोकतन्त्रको धज्जी उडाउन लागि परेको आरोप पौडेलले लगाए ।

सरकारले एकपछि अर्को गरी जनविरोधी विधेयक ल्याएर लोकतान्त्रिक गणतन्त्र व्यवस्था विपरितको आचरण देखाएको भन्दै उनले कम्युनिष्ट सर्वसत्तावाद विरुद्ध लड्नुको विकल्प नभएकाले सबै प्रजातान्त्रिक शक्तिहरु एक हुनुपर्ने बताए । कम्युनिष्ट सर्वसत्तावाद विरुद्ध लड्नु पर्ने बेलमा पार्टीमा गुटगत राजनीति हावी भएको तर्फ संकेत गर्दै उनले समस्या समाधानका लागि तत्काल पहल गर्न नेतृत्वको ध्यानाकर्षण गराए ।

फरक प्रसंगमा उनले विपी कोइरालाको सैद्धान्तिक अवधारणालाई व्यवहारमा उतार्ने काम गिरिजाप्रसाद कोइरालाले नै गरेको स्मरण गरे । अतिवादी राजनीतिको शान्तिपूर्ण अवतरणमा कोइरालाको भूमिकालाई सबैले उच्च मूल्यांकन गरेको पनि पौडेलले बताए ।

तपाइँको प्रतिक्रिया ।