स्वयम्भू भुइँखेलमा आयोजित सप्ताहव्यापी स्वयम्भू महोत्सव सम्पन्न
कपन अनलाइन
काठमाडौं,पुस २३। स्वयम्भू भुइँखेलमा आयोजना गरिएको सप्ताहव्यापी स्वयम्भू महोत्सव सम्पन्न भएको छ।
उक्त कार्यक्रमको समापनमा नगर प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बोल्दै भने बिश्व सम्पदा सूचीमा सुचीकृत स्थानहरुको पहिचानलाई बिश्वभर फैलाउन काठमाडौं महानगरपालिका क्रियाशील रहेको र पर्यटकीय स्थानको प्रबर्धनमा सबै लाग्नु पर्ने बताए। उनले स्वयम्भू महोत्सवले देखाएको सम्भावनालाई महानगरभरि बिस्तार गरिने बताए । काठमाडौं बाह्य पर्यटकका लागि मात्र होइन, यहाँ आन्तरिक पर्यटनको पनि ठूलो सम्भावना छ, यसलाई महानगरले कार्यक्रमले कार्यक्रममा समेटेको उनले बताए।
कार्यक्रममा बोल्दै सहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले अघि बढाएको नेपाल पर्यटन बर्षका कार्यक्रमलाई स्वयम्भू महोत्सवले सहयोग पुर्याएको धारणा राखे । यसलाई बिस्तार गरेर अन्य वडामा पनि पुर्याउनु पर्ने उनको भनाइ थियो ।
महानगरका प्रबक्ता एवं वडाध्यक्ष ईश्वरमान डंगालले भने सद्भाव बढाएको उल्लेख गर्दै यसबाटआफु उत्साहित भएको बताए । बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय बिधिधताको प्रचार प्रसार गरी पर्यटन प्रबर्धन गर्ने उद्देश्यले महोत्सव शुरु गरेका थियौं, लक्ष्य प्राप्त भएको उनले बताए।
उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक बिश्वराम पोखरेलले भने प्रहरी र जनता एउटै हुन् । प्रहरी देखेर जनता तर्सिनु पर्ने अवस्था होइन, नागरिक र जनताबीच फरक छैन । मिलेर काम गर्न सकिन्छ भन्ने महोत्सवले सन्देश दिएको उनले बताए ।
महोत्सव व्यवस्थापन र सवारी आवागमन व्यवस्थापनका बिषयमा कुरा गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले स्थानीय स्तरमा हुने कार्यक्रममा नागरिकको सहभागिताले सवारी सञ्चालनमा कठिन नभएको अनुभव सुनाए।
उक्त कार्यक्रममा रेञ्जर रेजिमेन्ट प्रमुख, महासेनानी युवधिर सिंहअधिकारी, जगदल प्रमुख, प्रमुख सेनानी चुलेन्द्र थापा, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरलगायत स्थानीय संघसंस्थाका प्रतिनिधि र स्थानीयहरुको बाक्लो उपस्थिति थियो । महोत्सव पुष १६ गते शुरु भएको थियो ।
‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना गरिएको कार्यक्रम वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सञ्चालन भएको हो । यसमा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सामुदायिक संघ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता थियो ।
नेपाल पर्यटन बर्षका कार्यक्रममा र काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको सप्ताहव्यापी कार्यक्रममा ४७ वटा घरेलु तथा हस्तकलाका सामाग्री र खानेकुराका स्टलहरु राखिएका थिए । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसँगै राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहेको थियो । महोत्सव समापन हुनुअघि बसन्तपुर बिश्वदेखि स्वयम्भूसम्म दुईवटा बिश्वसम्पदा क्षेत्र जोड्ने सम्पदा मार्गमा पैदल यात्रा गरिएको थियो ।
फोटो सौजन्य: काठमाडौं अनलाइन