माघ २ गते देशभर भूकम्प सुरक्षा दिवस मनाइने

माघ २ गते देशभर भूकम्प सुरक्षा दिवस मनाइने

कपन अनलाइन

काठमाडौं, पुस १४। २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा एक महिनाभरि देशभर सचेतनामुलक कार्यक्रम आयोजना हुने भएका छन् ।

आइतबार गृह मन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा गृह मन्त्रालयको सभा कक्षमा बसेको राष्ट्रिय भूकम्प दिवस २०७६ मुल समारोह समितिको बैठकले यस्तो निर्ण गरेको हो । १९९० साल सालमा गएको भूकम्पले पुर्याएको क्षतिको सम्झना गर्दै २०५५ सालदेखि हरेक बर्ष माघ २ गते राष्ट्रिय रुपमा भूकम्प सुरक्षा दिवस मनाइदै आएको छ ।

उक्त बैठकमा बोल्दै गृहमन्त्री थापाले दिवस जनताको सुरक्षा व्यवस्थालाई प्रत्याभूति गर्ने खालको हुनु पर्ने बताए । दिवसका लागि दिवस मनाउने होइन, बिगतका कार्यक्रम समीक्षा गरेर कार्यक्रमका ठोस आवश्यकताका आधारमा नीति र कार्यक्रम तय गरिनु पर्छ । उनले भने २०७२ सालको भूकम्पले भौतिक संरचनामा पुर्याएको क्षति पुननिर्माण सकिएको छैन ।

सो बैठकमा गृह सचिव प्रेमकुमार राईले दिवसका कार्यक्रम संघ सरकारसँगै प्रदेश र स्थानीय सरकार सबैको सहभागितामा मनाउने तयारी भएको जानकारी दिए । प्रदेश र स्थानीय तहका कार्यक्रम समेटेर पुष २३ गतेभित्र कार्यक्रमलाई अन्तिम रुप दिइने उनको भनाइ थियो । बैठकमा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एक महिनाभरि आयोजना हुने २५ वटा कार्यक्रम सम्बन्धि प्रस्ताव पेश गरेका थिए ।

बैठकमा बोल्दै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंबासी धेरैले पुननिर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम लिन नसकेको प्रसङ्ग उल्लेख गर्दै, भूकम्पबाट समस्यामा परेका तर सरकारबाट लाभ लिन नसकेकालाई प्याकेजमा राहत दिने खालका कार्यक्रम सरकारले घोषणा गर्नुपर्ने उल्लेख गरेका थिए । पछिल्लो (२०७२ सालको) भूकम्पको क्षति व्यवस्थापनका केही नीतिगत समस्या यथावत् छन् । मेयर शाक्यले टुँडिखेलको छेउमा भएको महाङ्काल मन्दिरको उदाहरण दिँदै भने यो मन्दिरको लालपुर्जा गुथिको नाममा छ । मन्दिर जीर्णोद्धार गर्नुपर्ने अवस्था छ । यो काम न गुथिले गर्छ, न उसको नामका भएका संरचनामा अरु जान मिल्छ । यसमा महानगरले मात्र होइन, पुरातत्व बिभागले पनि केही गर्न सकेको छैन । महानगरलाई यस प्रकारका समस्याले सम्पदा जीर्णोद्धार तथा पुननिर्माणमा समस्या छ । पैसा छ, खर्च गर्न पाइँदैन । यस्ता समस्या समाधान गर्न नीतिगत प्रबन्ध नगरी नहुने अवस्था छ, उनको भनाइ थियो ।

भूकम्प दिवसका कार्यक्रम व्यवहारिक सचेतनामुलक हुनुपर्छ, बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले भने  नबुझेर चउरमा खेल्दै गरेको बालबालिका भुइचालो आउँदा टेवुलमुनि लुक्न घरभित्र नछिरुन् ।

यस बर्षको मूल समारोह भक्तपुर नगरपालिकाले आयोजना गर्नेछ । बैठकमा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले विगतमा चलाइएका कार्यक्रममा केही थप गरेर मूल समारोहलाई व्यवस्थित गरिने बताएका थिए। उनले भूकम्पपछि नगरले पुननिर्माणका क्षेत्रमा सम्पन्न गरेका काम सम्बन्धि विवरण पेश गरेका थिए ।

माघ २ गते काठमाडौं महानगरले नयाँ सडकस्थित भूकम्प स्मृति पार्कमा १९९० तथा त्यसपछिको भूकम्पले मृत्यु भएका मानिसहरुको सम्झनामा स्मृति सभा गर्नेछ । त्यस्तै २ गतेदेखि ४ गतेसम्म राष्ट्रिय सभा गृहमा भूकम्पीय सुरक्षा प्रदर्शनी हुनेछ । कार्यक्रम अवधिमा पुननिर्माण, जोखिम न्युनीकरण तथा पूर्व तयारीको सिकाइ र भूकम्पीय सुरक्षा सम्बन्धि २ वटा राष्ट्रिय कार्यशाला सञ्चालन हुनेछन् ।

दिवस मनाउन हरेक नगरका प्रमुखको अध्यक्षतामा स्थानीय तहको व्यवस्थापन समिति गठन हुनेछ ।

फोटो सौजन्य: काठमाडौं खबर

तपाइँको प्रतिक्रिया ।