प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा सेभेन ए साइड फुटबल प्रतियोगिता पौष २६ गते बाट
कपन अनलाइन
काठमाडौँ, पौष १३। गोकर्णेश्वर नगरपालिका वडा नं ५ नारायणटार जोरपाटीमा संचालित इष्ट पोल माबीले प्रथम इष्ट पोल अन्तर बिध्यालय सेभेन ए साइड छात्र-छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। इष्ट पोल मावि २५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर पौष २६ गते देखि प्रतियोगिता संचालन गर्न लागिएको इष्ट पोल माविका भाइस प्रिन्सिपल प्रकाश अधिकारीले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
पौष २६ गते देखि माघ २ गते सम्म इष्ट पोल माविको खेल मैदानमा संचालन हुने सो प्रतियोगिता एन्फाको नियम अनुसार खेलाइने पनि आयोजकले जनाएको छ। उक्त प्रतियोगितामा छात्रहरुको हकमा १३ वर्ष, अधिकतम ५ फिट उचाई भएका र कक्षा ७ सम्मका खेलाडीले खेल्न पाउनेछन भने छात्रातर्फ ९ कक्षा सम्मका खेलाडीले भाग लिन पाउने इस्टपोल स्कुलका स्पोर्ट्स इन्चार्ज सुदर्शन घिमिरेले टाइसिट ड्र गर्दै जानकारी गराएका हुन् । प्रतियोगितामा १५ वटा विद्यालयका कुल १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछ ।पत्रकार सम्मेलनमा बिभिन्न सहभागी बिध्यालयका प्रिन्सिपल तथा शिक्षक प्रतिनिधिहरुको साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगीतामा प्रथम र दितीय हुनेलाई ट्रफी मेडल र प्रमाण पत्रको साथै उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक,र फेयर प्ले टिमलाइ पनि अवार्डको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।थप जानकारीको लागि इष्ट पोलका स्पोर्ट्स इन्चार्ज सुदर्शन घिमिरे (९८६७८११६३७) अथवा इष्ट पोल माबी ०१- ४९०९९०, ४९१२००५मा सम्पर्क गर्न सकिनेछ ।
फोटो : सरोज बस्नेत