असनको पहिचान प्रबर्द्धन गर्न एकदिने महोत्सब
कपन अनलाइन
काठमाडौँ, पुस १३ । असनको ऐतिहासिकता प्रबर्द्धन गर्न शनिबार एकदिने महोत्सव आयोजना गरिएको थियो ।
भोटाहिटी, इन्द्रचोक र बाङ्गेमुढातर्फबाट आउने सवा री साधनलाई रोकेर वडा २७ ले असन सेवा समाजको सहकार्यमा महोत्सव आयोजना गरिएको हो । ‘नेपा या, म्हसीका, नेपा या गौरव, राज्यं हे छ्यलेमा नेपाल संबत् (नेपालको पहिचान र गौरव भएको नेपाल संबत् सरकार आफैंले सञ्चालन गर्नुपर्छ)’ नारासहित असन चोकमा महोत्सव चलाइएको हो ।
महोत्सव शुभारम्भ गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्राचीन महत्व बोकेका मठ मन्दिर, बहाल बहिल तथा चोकजस्ता मूर्त सम्पदा र बाजागाजा तथा नाचको संरक्षण तथा प्रबर्धनका लागि महानगरले निर्धक्क सहयोग गर्ने बताएका थिए । काठमाडौंको पहिचान भनेको यसको मौलिकता हो । यसलाई मासेर नवनिर्माणका लागि महानगर कल्पना गरेको छैन । गर्नु हुँदैन र गर्दिन पनि उनले भने आउनोस् संस्कृति र सम्पदा जोगाउन मिलेर अघि बढौं ।
उक्त कार्यक्रममा नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले मौलिकता जोगाउन सके पहिचान जोगिएसँगै पर्यटनमार्फत आर्थिक लाभ पनि हुने धारणा राखेका थिए।
भित्री वडा क्षेत्रमा सहरी पूर्वाधारसँगै सम्पदा संरक्षणका कामलाई प्राथमिताका राखिएको छ । कार्यक्रममा वडाका बारेमा जानकारी दिँदै वडा सदस्य नरेश महर्जनले प्राचीन बस्तुको गरिमा घट्न नदिने बताएका थिए ।
उक्त कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा जनप्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति थियो ।
महोत्सवमा यमरी, बारा, मःम, छोइला, कचिला, सफुमिचा, चोही, बः लगायत परम्परागत नेवारी खाजाका स्टल, नेवारी साहित्य, सृजना र संस्कृति सम्बन्धि पुस्तकका स्टलहरु राखिएका थिए । महोत्सवमा नेपाल लिपि गुथिले रञ्जना क्लालिग्राफी अभियान सञ्चालन गरेको छ । त्यस्तै परम्परागत नाच र गायन गरी ३० वटा प्रस्तुति राखिएका छन् । यी प्रस्तुतिहरुमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता सहभागिता रहेको थियो ।
वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार महोत्सवमा स्थानीय परम्परागत खानेकुराको प्रबर्धन गर्न ९ वटा खानाका स्टल राखिएका थिए ।
फोटो सौजन्य : काठमाडौँ खबर