एक्सेल्सियरको तीनै टोली फाइनलमा

एक्सेल्सियरको तीनै टोली फाइनलमा

कपन अनलाइन

काठमाडौं, पुस ११ ।आयोजक द एक्सेल्सियर स्कुलको तीनै टोली आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
यु–१६ ब्वाइजमा एक्सेल्सियरले बृहस्पति विद्या सदनलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। एक्सेल्सियरका साकार उप्रेतीले ह्याट्रिक गरे भने धीरज जोशीले २ तथा मानव केसीले १ गोल थपे ।

फाइनलमा एक्सेल्सियरको भेट महामञ्जुश्रीसंग हुने छ । अर्को सेमिफाइनलमा महामञ्जुश्रीले ग्रिनफिल्डलाई टाइब्रेकरमा २–१ गोलले हराएको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा महामञ्जुश्रीका एन्जल श्रेष्ठ र समिर श्रेष्ठले गोल गरे भने ग्रिनफिल्डबाट आयुश बुढाथोकीले गोल गरे ।
यु–१६ गल्र्समा एक्सेल्सियरले काष्ठमण्डपलाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगायो । निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । उपाधिका लागि एक्सेल्सियरले ग्यालेक्सी विरुद्ध खेल्ने छ । सेमिफाइनलमा ग्यालेक्सीले प्याराडाइस रिडर्स एकेडेमीलाई २–० गोलले पन्छायो । ग्यालेक्सीकी सरु श्रेष्ठले दुवै गोल गरिन् ।
यु–१२ ब्वाइज सेमिफाइनलमा एक्सेल्सियरले ग्रिनफिल्डलाई ४–० गोलले हराउदै किड्स लर्निङसंग उपाधि भिडन्त पक्का ग¥यो । विजेताका जोएल लामाले ३ तथा श्रीदीप अधिकारीले १ गोल गरे । किड्स लर्निङले पुष्पसदनमाथि ८–० को सहज जित दर्ता गर्यो । विजयी टिमका लागि पेम्बा तामाङ र कुलदेव तितुङले ह्याट्रिक पूरा गरे भने बाँकी २ गोल युकेश नेगीको नाममा रह्यो ।
बास्केटबलको सिनियर गल्र्समा स्वर्णिम र सिद्धार्थ बनस्थली उपाधिका लागि भिड्ने भएका छन् । स्वर्णिमले एलआरआईलाई ३३–२८ तथा सिद्धार्थ बनस्थलीले द चाँदबागलाई २१–१८ ले निराश पारे । स्वर्णिमकी मोहिनी लोप्चनले १७ तथा सिद्धार्थ बनस्थलीकी यशोश्री गुप्ताले ९ स्कोर गरे ।
बास्केटबलकै जुनियर ब्वाइजमा महामञ्जुश्रीले डिफेन्डिङ च्याम्पियन रेडिअन्टलाई २३–१९ तथा सेबले पिपुल्स एकेडेमीलाई १९–१२ ले पराजित गर्दै फाइनलमा पुगे । महामञ्जुश्रीका शिभम् लामा तथा सेबका विकास डंगोलले समान ६–६ स्कोर गरे ।
सिनियर ब्वाइजमा रेडिअन्टले महामञ्जुश्रीलाई ६७–६३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २३ अंक जोडे ।

तपाइँको प्रतिक्रिया ।