ओखलढुंगाको खिजिदेम्बा बिमानस्थलमा परीक्षण उडान
कपन अनलाइन
ओखलढुंगा ,पौष ७।
ओखलढुंगाको खिजिदेम्बा चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा बिमानस्थलमा परीक्षण उडान गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थल सञ्चालनका लागि परीक्षण उडान गराएको हो।उक्त विमानस्थलमा तारा एयरको जहाजले उडान गरेको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टाराई ,ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार ,नेपाली कांग्रेसका नेता रामहरी खतिवडा सहितको टोली परीक्षण उडानमा गएको थियो। उनले उक्त विमानस्थलमा छिट्टै नियमित उडान गर्ने जानकारी गराएका छन्।
यो विमानस्थलले नियमित उडान गर्दा रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका जनताले फाइदा लिनसक्ने सांसद सुनुवारले बताएका छन ।
आफू दोस्रो संविधानसभामा निर्वाचित भएदेखिनै यो विमानस्थल निर्माणका लागि पहल गरेको र ठेकेदारले काम नगर्दा प्रशासन लगाउनुपरेको उनले स्मरण गरे । अब यसलाई स्तरोन्नती गरी नियमित उडान गर्नु अर्को चुनौती रहेको उनले बताएका थिए।
योसँगै ओखरढुंगामा २ विमानस्थल भएका छन्। यसअघि रुम्जाचटार विमानस्थल सञ्चालनमा छ।
हाल कूल आन्तरिक विमानस्थल ५४ छन्। त्यसमा २७ ओटामा मात्र नियमिति उडान भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
आज उद्घाटन भएको विमानस्थलसँगै ५५ पुगेका छन् भने नियमित उडान नहुने विमानस्थलको संख्या १८ पुगेको छ।