ओखलढुंगाको खिजीचण्डेश्वरी एयरपोर्टमा परिक्षण उडानको तयारी

ओखलढुंगाको खिजीचण्डेश्वरी एयरपोर्टमा परिक्षण उडानको तयारी

कपन अनलाइन

ओखलढुंगा, पुस ३ । ओखलढुंगाको खिजीचण्डेश्वरी एयरपोर्ट निर्माणको काम १३ वर्षपछि सकिएको छ । २०६३ सालबाट प्रकृया थालिएको एयरपोर्ट निर्माणको काम बल्ल सकिएको हो ।

ठेकेदार कम्पनिको ढिलासुस्तीका कारण लामो समय अलपत्र परेको एयरपोर्ट निर्माणको कामले गतवर्षबाट गति पाएको थियो ।
प्रारम्भिक चरणको काम सकिएकाले परिक्षण उडान गर्ने तयारी गरिएको छ । ओखलढुंगाको पश्चिमी क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिका ३ खिजीचण्डेश्वरी स्थित दोबस एयरपोर्टमा यहि साता परिक्षण उडान गरिने भएको हो ।

हेलिकप्टरबाट एयरपोर्ट अवलोकन

सांसद सहितको टोलिले हेलिकप्टरबाट खिजीचण्डेश्वरी एयरपोर्ट अवलोकन गरेको छ । सम्भावित उडानका सन्दर्भमा संघिय प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवारको नेतृत्वमा मंगलवार नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन गरेको हो ।

स्थलगत अनुगमनमा लागि सांसद सुनुवारसगै नागरिक उड्डयन प्राधिकरणका ईञ्जिनियर तथा आयोजना प्रमुख विनायक भट्टराई, तारा एयरका अपरेटिङ म्यानेजर शान्त प्रजापती, क्याप्टेन सन्तोष शाह लगायत खिजीदेम्बा पुगेका थिए ।

एयरपोर्टको अवस्था अवलोकन गर्दै उडानका लागि योग्य भए नभएको विषयमा अध्ययान गरिएको सांसद सुनुवारले बताए । ‘यो एयरपोर्ट जिल्लाको भाग्य र भविष्यसँग जोडिएको सवाल हो । सगरमाथा जाने मार्ग समेत भएकाले यसले जिल्लाको मात्रै होईन देशकै अर्थतन्त्रमा प्रभाव पार्छ, पर्यटन प्रवद्र्धनमा देशकै नमुना बन्छ ।’ उनले भने,‘सिधै प्लेन ल्याएर परीक्षण गर्न नमिल्ने भएकाले हेलिकप्टलमा प्राविधिक ईन्जिनियर सहित आएर अध्ययान गरियो । उडानका लागि कुनै समस्या छैन । अब ढुक्कका साथ छिट्टै परिक्षण उडान भरिन्छ ।’ खिजीचण्डेश्वरी एयरपोर्ट सांसद सुनुवारको चुनावी एजेण्डा थियो । अलपत्र अवस्थामा रहेको ठेक्काको काम सम्पन्न गराउन सांसद सुनुवार लागि परेका थिए ।
हेलिकप्टर चडेर एयरपोर्ट हेर्न पुगेका सांसद नेतृत्वको टोलिलाई स्थानीय जनप्रतिनिधिले खादा र फुलमाला लगाएर स्वागत गरेका थिए ।
खिजिचण्डेश्वरी एयरपोेर्टमा नियमित हवाई उडान भए यस क्षेत्रका ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नियमित उडान भएमा दिनमा १५ देखी १८ घण्टा लगाएर कच्चि सडकमा बसमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता समेत अन्त्य हुनेछ ।
पर्यटकीय क्षेत्र थोलेदेम्बा हुँदै सगरमाथाको दृश्यावलोकनका लागि समेत सो मार्ग सहज र सस्तो पर्ने भएकाले दिर्घकालिन योजना सहितका एयरपोर्टको स्तरोन्नती र नियमित उडानका लागि स्थानीयले माग गरेका छन् ।
१२ मिटर चौडाई र ५ सय ८० मिटर लम्बाईको मैदान बनाईएको छ । आगामी दिनमा सगरमाथासँग जोडएका पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सकिने भएकाले यसको क्षेत्र व्यापक बनाईनुपर्ने पर्यटन व्यवसायी पेम्बा शेर्पाको भनाई छ । स्थानीयहरुले निशुल्क जग्गा व्यवस्था गर्ने प्रतिवद्धता सहित नागरिक उड्डयन प्राधिकरणलाई एयरपोर्टको स्तरोन्नती र क्षेत्र बढाउन माग गरेका छन् ।

फोटो सौजन्य: भिजन एफ.एम

तपाइँको प्रतिक्रिया ।