गैरआवासीय नेपाली संघ चीनको शुभकामना आदान प्रदान एवं परिचयात्मक कार्यक्रम सम्पन्न
कपन अनलाइन
मंसिर ३० ग्वान्जौ, चीन । गैरआवासीय नेपाली संघ चीनको आयोजनामा १३ डिसेम्वर २०१९ शुक्रवार चीनको ग्वान्जौ स्थित नेपाली महाबाणिज्य दुतवासका नवनियुक्त महावाणिज्यदुत श्री हरिशरण पुडासैनीको स्वागतार्थ रात्रीभोज र शुभकामना आदान प्रदान एवं परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
बिगत अठार महिनादेखी रिक्त रहेको ग्वान्जौस्थित महावाणिज्यदुतावासमा महावाणिज्यदुतको पदभार ग्रहण गरेका पुडासैनीको सम्मान र सफल कार्यकाल शुभकामना साथै नेपाल र नेपाली जनताको हितमा कार्य गर्न उत्प्रेरित गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरेको आयोजक संस्था एनआरएनए चीनका अध्यक्ष श्री प्रदीप न्यौपानेले जानकारी गराएका छन् ।
सोही कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एसिया प्रशान्त क्षेत्रीय महिला संयोजकमा निर्विरोध निर्वाचित श्रीमती अमृता थापालाई पनि स्वागत एवं सम्मान गरियो ।
विगत पन्ध्र वर्ष देखी चीनमा बसोबासगर्दै आएकी ब्यवसायी थापा गैरआवासीय नेपाली संघ चीनमा महिला संयोजक, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको जिम्मेवारी सफलतापुर्वक पुरा गरी सकेकी छिन ।
अध्यक्ष न्यौपानेको सभापतित्व एवं महाबाणिज्यदुत पुडासैनीको प्रमुख आतिथ्य रहेको कार्यक्रमको बिशेष अतिथिको रुपमा क्षेत्रीय
महिला संयोजक श्रीमती थापा रहेकी थिइन भने कार्यक्रमको संचालन महासचिव श्री यम बहादुर क्षेत्री (ओम) ले गरेका थिए ।
ग्वान्जौ स्थित नेपाली रेष्टुरेण्ट लिटल पापामा शुक्रवार साँझ आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं क्षेत्रिय महिला संयोजकलाई अध्यक्ष न्यौपानेले पुष्पगुच्छा र आइसिसी सदस्य श्री नवीन बि.क.ले खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा महावाणिज्य दुतावासका सहायक कन्सुलर शरद ढुगांना, संस्थापक अध्यक्ष शंकर ज्ञवाली, भुपु अध्यक्ष डिल्ली प्रसाद पराजुली (बलराम), भुतपुर्ब केन्द्रीय कोषाध्यक्ष प्रितम श्रेष्ठ, एनआरएनए चीनका पदाधिकारी एवं कार्यसमिति सदस्य लगायत ग्वान्जौमा रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।