टोलटोल पुगेर जनताका समस्या सुन्दै जनप्रतिनिधि

टोलटोल पुगेर जनताका समस्या सुन्दै जनप्रतिनिधि
कपन अनलाइन
काठमाडौं, मंसिर २६। टोलटोल पुगेर जनताका समस्या सुन्दै जनप्रतिनिधि जनताका साझा समस्या समाधानको प्रयासमा काठमाडौं वडा नम्बर ४ ले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रमअन्तर्गत वडामा रहेका १० टोलका जनतमाझ पुगेर प्रदेशसभा सदस्य र वडाका प्रतिनिधिले साझा समस्या बुझ्नुका साथै समाधानको प्रयास गर्न थालेका छन् । १७ मंसिरबाट सुरु भएको कार्यक्रम अहिलेसम्म चार ठाउँमा सम्पन्न भएको काठमाडौं–४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए ।’
उनका अनुसार माथिल्लो बालुटार, टुसाल, तल्लो बालुवाटार र चुनदेवीमा कार्यक्रम गरी जनताका समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको छ । यो कार्यक्रम काठमाडौं ४ अन्तर्गतका प्रगति टोल, दीपज्योति–दीपसागर, गैरीगाउँ विशालनगर, चण्डोल, अन्नपूर्ण मार्ग र धन्यन्तरी आनन्दनगर मार्गमा पनि गरिने वडा अध्यक्ष विष्टले बताए । जनप्रतिनिधिसमक्ष जनताले मेलम्चीको पानी, ढल व्यवस्थापन, चोरी नियन्त्रणका लागि सीसी क्यामेरा जडान, कुकुरको उचित व्यवस्थापन, सरसफाइ, वडास्तरीय क्लिनिकलगायतमा ध्यान दिन सुझाव दिए ।
टोलवासीका समस्या समाधानमा काठमाडौं–५ (१)का सांसद नारायण सिलवाल पनि सक्रिय भएर लागेका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सिलवालले ४ नम्बर वडाबाट सुरु भएको कार्यक्रमलाई अन्य वडामा पनि विस्तार गरिने बताए ।
बिहीबार चुनदेवीमा आयोजित कार्यक्रममा उनले भने, ‘अनेक चुनौतीका बाबजुद स्थानीय तहका जनप्रतिनिधिले काम गरिरहेका छन्, केही कमजोरी भए भने जनताले खबरदारी गर्नुपर्छ । हामी सबै एकजुट भएर लाग्यौं भने नमुना विकास हामीभन्दा धेरै टाढा छैन ।’ उनले स्थानीय विकासका योजनामा प्रत्यक्ष संलग्नता जनाइ सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । ‘वडा नम्बर ४ बाट हामीले थालेको कार्यक्रमलाई फलदायी र उपलब्धिमूलक बनाउन सक्यौं भने अन्य वडा र स्थानीय तहले पनि हाम्रो कामको अनुशरण गर्नेछन्,’ प्रदेश सांसद सिलवालले भने, ‘अनुकरणयोग्य बनाउनका लागि जनता र जनप्रतिनिधिबीचको एकता, सहकार्य र समन्वय प्रभावकारी हुनुपर्छ ।
’ वडा नम्बर ४ पार्क र हरियालीपूर्ण रहेको, पूर्वाधारहरुको निर्माण र स्तरोन्नति गर्ने काम जारी रहेको, काठमाडौंका अन्य वडाभन्दा सफा रहेको सांसद सिलवालले बताए ।
काठमाडौं ४ ले अतिक्रमित सार्वजनिक जग्गा वडामातहत ल्याइ झण्डै एक दर्जन पार्क निर्माण गरेको छ । प्रदेश सांसद सिलवालको सक्रियतामा गत वर्ष पनि १२ टोलमा यस्तो कार्यक्रम गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।