सांसद अम्बिरबाबु गुरुङद्धारा विद्यालयमा अक्षयकोष स्थापना

सांसद अम्बिरबाबु गुरुङद्धारा विद्यालयमा अक्षयकोष स्थापना

कपन अनलाइन

ओखलढुंगा,मंसिर २४ । ओखलढुंगाका सांसद अम्बिरबाबु गुरुङले रुम्जाटार माविमा ३० लाख ५० हजारको अक्षयकोष स्थापना गरेका छन् ।

रुम्जाटारका स्थानीय समेत रहेका प्रदेशसभा सदस्य गुरुङले आफ्ना पिता कर्णसिहं गुरुङको नाममा रुम्जाटार माविमा तीस लाख, पचास हजारको अध्यक्षकोष स्थापना गरेका हुन् ।

सांसदका पिता स्वर्गीय कर्णसिंह गुरुङ शिक्षक र प्रअकाे भूमिकामा रहेर रुम्जाटार माविमा ३३ वर्ष कार्यरत थिए । उनै पिताको सम्झनामा अक्षयकोष वापतको ३० लाख ५० हजारको चेक सांसद गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम गुरुङ र प्रअ गोकर्णबहादुर बानीयाँलाई हस्तान्तरण गरेका छन् । ठुलो रकम सहितको अक्षयकोष स्थापना गरेपछि अभिभावकहरुले सांसद गुरुङलाई १५ किलोको फुलमाला लगाएर सम्मान गरेका थिए ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आफुले व्यक्तिगत लगानीमा अक्षयकोष स्थापना गरेको सांसद गुरुङले बताए । ‘गाउँका सामुदायिक विद्यालयमा पढाई राम्रो नभएको र अतिरिक्त क्रियाकलाप नगराउने लगायतका कारण देखाउँदै अभिभावकहरुले निजी स्कुल रोज्न थालेको पाईयो । कतिले त छोराछोरीको भविष्यका लागि भन्दै शिक्षाको खोजीमा गाउँ छाडेको अवस्था पनि छ ।’ सांसद गुरुङले भने,‘विद्यालयमा अतिरिक्त क्रियाकलापमा जोड दिँदै विशेषत खेलकुदमा पनि विद्यार्थीहरुलाई सहभागी गराएर सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्छ भन्ने मेरो विश्वास हो ।’ पूर्व खेलाडी समेत रहेका सांसद गुरुङले रुम्जाटार माविमा छुट्टै खेलकुद विषयको अध्ययान-अध्ययापन र प्रशिक्षण नियमित सञ्चालन गर्न आग्रह गरेका छन् ।

सांसदले स्थापना गरेको अक्षयकोषको रकमको व्याज वापत प्राप्त हुने रकमले खेल प्रशिक्षकको व्यवस्था गरिने विद्यालयले जनाएको छ ।सांसद गुरुङले रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने काम सुरु भईसकेकाले ‘स्मार्ट सिटी’ भित्रका सबै संरचना ‘स्मार्ट’ बनाउने अभियानमा जुट्न स्थानीयलाई आवहन गरेका छन् । ‘रुम्जाटार ‘स्मार्ट सिटी’ बन्दैछ । अब यहाँका विद्यालय, स्वास्थ्य संस्था सहितका सबै कुराहरु स्मार्ट हुनुपर्छ । त्यस अभियानमा जुट्न म रुम्जाटारबासीलाई आवहन गर्दछु ।’रुम्जाटार माविको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा विव्यस गठन सहितकोे अभिभावक भेलालाई सम्बोधन गर्दै उनले भने,‘पहाडीमुलको स्मार्ट सिटी देशको प्रमुख पर्यटकीय गन्तव्य मात्रै होईन यहाँ शिक्षाको पनि हवका रुपमा विकास गर्न सकिन्छ । त्यसका लागि सामुहिक एकताको खाँचो छ ।’ सम्भावना बोकेर पनि ओझेलमा परेको पर्यटकीय नगरी रुम्जाटारको विकासका लागि प्रदेश सरकारले समेत योजनामा राखेको छ ।

फोटो सौजन्य: भिजन एफएम
तपाइँको प्रतिक्रिया ।