समाज सुधार कार्यले गति लिईसकेको छ :प्रदेस सभा सदस्य नारायण सिलवाल

समाज सुधार कार्यले गति लिईसकेको छ :प्रदेस सभा सदस्य नारायण सिलवाल

कपन अनलाइन

काठमाडौं ,मंसिर २२ ।

काठमाडौं महानगरपालिका वडा नं. ४ ले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम अन्तर्गत स्थानीयवासी र नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद नारायण सिलवालसहित वडाध्यक्ष र वडा सदस्यबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । स्थानीयका समस्या र गुनासा सिधै जनप्रतिनिधिसमक्ष पुर्‍याउने उद्देश्यले वडा नं. ४ ले श्रृङ्खलाबद्ध रुपमा आयोजा गर्दै आएको अन्तरक्रिया कार्यक्रममा सांसद सिलवालले समाजले सुधारकाे गति लिइसकेकाे बताएका छन  ।

माथिल्लो टुसालस्थित टुसाल पार्कमा आयोजित कार्यक्रममा सांसद सिलवालले वडा नं. ४ का स्थानीयको समस्याको सम्बोधन गर्दै सम्पन्न परियोजना र भविष्यका योजनाका बारेमा जानकारी दिएका थिए । स्थानीयले मुख्यतः खानेपानी, सडक मर्मत एवं विस्तार, प्रदुषणलगायतका विषयमा सांसद सिलवालको ध्यानाकर्षण गराएका थिए ।

सिलवालले मेलम्ची परियोजना अन्तिम अवस्थामा पुगेको र खानेपानीको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए भने सडक विस्तारका लागि वडा कार्यालय र स्थानीयले समन्वय गर्नुपर्ने बताउँदै आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘यहाँ केहि समयमा मेलम्चीको पाइप विस्तारको काम सुरु हुँदैछ । अन्य धेरै ठाउँमा लगभग सकिसकेको छ । सबैतिर पाइप विछ्याउने काम सकिएपछि खानेपानीको समस्या समाधान हुनेछ,’ सिलवालले भने, ‘यस क्षेत्रमा पार्क थप पार्क बनाउन पनि पहल गरिरहेका छौं । थप ४ वटा पार्क बनाउने हाम्रो योजना छ ।’

सो कार्यक्रम आयोजना भएको टुसाल पार्कपनि सांसद सिलवालकै अगुवाइमा निर्माण भएको थियो । कुल ३४ लाखको बजेटमा निर्मित सो पार्कसहित वडा नं ४ मा ७ वटा पार्क सिलवालकै अग्रसरतामा निर्माण भएका छन् । पार्क निर्माणमा वडा कार्यालयले पनि उल्लेखनिय भुमिका खेलेको छ ।

यस्तै, सिलवालले जारी १३औं सागमा महिला खेलाडीले देशलाई धेरै स्वर्ण पदक जिताएको प्रसंग उठाउँदै समाजमा भएका नकारात्मक पक्षमा मात्र जोड दिएर सकारात्मक विषयको सम्बोधन नगरिएको पनि बताए ।

‘हामी जहिले नराम्रा कुरामात्र बढी देख्छौं । सागमा चेलीहरुले त्यति धेरै स्वर्ण पदक जिताएका छन् । समाजमा महिला सशक्तिकरणमार्फत सामाजिक रुपान्तरणको अभ्यास खेलकुदबाट सुरु भइसकेको छ । यस्ता सकारात्मक विषयमा हाम्रो चासो कम हुन्छ । अब विस्तारै अन्य क्षेत्रमा पनि सुधार हुन्छ, समस्या समाधान हुन्छन्,’ सिलवालले प्रतिबद्धता व्यक्त गरे ।

वडा नं. ४ का वडाध्यक्ष मोहनबहादुर विष्टले अन्तरक्रिया कार्यक्रममा जनताबाट आएका गुनासा सम्बोधन गर्दै नमुना वडा बनाइने बताए । जनताका गुनासा जनप्रतिनिधिसमक्ष पुर्‍याउन वडा कार्यालयले अन्तरक्रिया कार्यक्रमको पहिलो श्रृङ्खला भाटभटेनीमा आयोजना गरेको थियो । यस्ता कार्यक्रम नियमित आयोजना गरिने पनि उनले जानकारी दिए ।

 

तपाइँको प्रतिक्रिया ।